बुधवार, कार्तिक १९ २०८३
नेपाल वाइड
खोटाङ, १८ कातिक । नेपाली काँग्रेस (देउवा) पक्ष खोटाङको जिल्ला सभापतिमा रोजन राई निर्विरोध निर्वाचित भएका छन् । दिक्तेलबजारस्थित पुरानो पार्टी कार्यालयमा बुधबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले राईलाई निर्विरोध निर्वाचित गरेको हो ।
अधिवेशनले उपसभापतिमा खिलाराज राई र केशव राई, सचिवमा अमृत गिरी र प्रदीप कार्की तथा सहसचिवमा अनिता राई र सुरेश कार्की चयन गरेको छ । विधानअनुसार ४६ सदस्यीय जिल्ला कार्यसमिति बन्नुपर्ने भए पनि पदाधिकारी बाहेकका सदस्यको नामावली सार्वजनिक गरिएको छैन ।
क्षेत्रीय कार्यसमितितर्फ क्षेत्र नं. १ (क) मा सभापति उद्धव राई, उपसभापति मकर राई, सचिव टीकाबहादुर भुजेल तथा सहसचिवमा सेकेन्द्र राई र राधा गिरी चयन भएका छन् । क्षेत्र नं. २ (ख) मा सभापति सुनिलचन्द्र राई, उपसभापति भीमबहादुर राई र निरेशकुमार राई तथा सचिव सङ्गम राई र विश्वदीप राई छन् ।

मङ्गलबार र बुधबार आयोजित जिल्ला तथा क्षेत्रीय अधिवेशनबाट कोशी प्रदेश महाधिवेशनका लागि दुवै क्षेत्रबाट ३२÷३२ जना प्रतिनिधि चयन भएको निर्वाचन मण्डलका संयोजक महाप्रसाद आचार्यले जानकारी दिए ।
सङ्घीय महाधिवेशनका लागि ३४ जना प्रतिनिधि सर्वसम्मत् निर्वाचित भएका छन्, जसमा केन्द्रीय सदस्य सरस्वती बजिमय, प्रदेश महामन्त्री भुपेन्द्र राई, हीरा गुरुङ र सरिता आङ्देम्बे लगायत छन् ।
अधिवेशनले भुपेन्द्र राईसहित १३ जना महासमिति सदस्य पनि चयन गरेको छ । केन्द्रमा काँग्रेस दुई धारमा विभाजित भएपछि खोटाङमा पनि त्यसको असर देखिएको छ । प्रदेश महामन्त्री भुपेन्द्र राई देउवा पक्षमा र जिल्ला सभापति विष्णुकुमार राई गगनकुमार थापा पक्षमा छन् ।
थापा पक्षले स्थानीय तह तथा क्षेत्रीय कार्यसमितिको मात्र अधिवेशन गरी राष्ट्रिय महाधिवेशनमा सहभागी भएको छ भने देउवा पक्षले दशवटै स्थानीय तहमा अधिवेशन गरेर जिल्ला तथा क्षेत्रीय अधिवेशन सम्पन्न गरेको हो ।