बिहिवार, कार्तिक १३ २०८३
नेपाल वाइड
खोटाङ, १२ कातिक । शहीद मुक्सन किराँत स्मृति केन्द्र खोटाङले आगामी मङ्सिर २५ गतेदेखि ‘शहीद मुक्सन किराँत स्मृति जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८३’ सञ्चालन गर्ने भएको छ ।
मझुवागढी नगरपालिका–५, लफ्याङस्थित शहीद स्मारक स्थलमा तीन दिनसम्म चल्ने यो प्रतियोगिताको दोस्रो संस्करण हो ।
बिहीबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले विजेता टोलीले नगद एक लाख रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाउने जानकारी दिएका छन् । पुरस्कार शहीद किराँतको परिवारको प्रायोजनमा प्रदान गरिनेछ ।
प्रतियोगिता संयोजक जितेन्द्र राईका अनुसार उपविजेताले नगद ६० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडीले तीन हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट लिबेरो, मिडल ब्लकर, सेटर, स्पाईकर र सर्भरले जनही दुई हजार रुपैयाँ पाउनेछन् ।
स्मृति केन्द्रका अध्यक्ष बबि चाम्लिङका अनुसार शहीद किराँतको स्मृति र योगदानलाई जीवन्त राख्दै जिल्लामा भलिबलको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
युवालाई खेलकुदमार्फत अनुशासन, नेतृत्व र सकारात्मक सामाजिक गतिविधितर्फ प्रोत्साहित गर्ने, प्रतिभावान् खेलाडीलाई क्षमता प्रदर्शनको अवसर दिने तथा सामाजिक सद्भाव, सहकार्य र सामुदायिक एकता बढाउने पनि आयोजकको भनाइ छ ।
नेकपा (एमाले)का तत्कालीन जिल्ला परिषद् सदस्य तथा अनेरास्ववियुका राष्ट्रिय परिषद् सदस्य किराँतलाई सशस्त्र द्वन्द्वकालमा वि.सं. २०५९ असोज २४ गते तत्कालीन विद्रोही पक्षले अपहरणपछि हत्या गरेको थियो । उनलाई सोही वर्ष औपचारिक रूपमा शहीद घोषणा गरिएको थियो ।