आइतवार, चैत्र २० २०७८
नेपाल वाइड
खोटाङ, २० चैत । सेञ्चुरी कमर्सियल बैंक शाखा हलेसीले सरस्वती माबि अर्खौलेमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । वित्तिय साक्षरता र सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तरगत बैंकले शनिबार सरस्वती माबिका अभिभावक र विद्यार्थीलाई सहभागी गराएर एकदिने वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा सहभागी अभिभावक तथा विद्यार्थीलाई सेञ्चुरी कमर्सियल बैंक शाखा हलेसीका प्रमुख प्रभुराम थापाले बचतदेखि शेयर लगानीसम्मका वित्तीय शिक्षाका वारेमा जानकारी दिएका छन् ।
प्रमुख थापाले वित्तीय साक्षरताको महत्व, बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाह, बचतको धारणा र महत्व, शेयर बजार सम्वन्धी जानकारी दिएका छन् । यस्तै, सेञ्चुरी कमर्सियल बैंकले प्रदान गर्ने सेवा तथा हालसालै सञ्चालनमा ल्याइएको नयाँ निक्षेप खाताका बारेमा पनि सहभागीलाई जानकारी दिइएको छ । कार्यक्रममा सेञ्चुरी कमर्सियल बैंकले सरस्वती माबिलाई भित्तामा झुण्ड्याउन मिल्ने एक थान नेपालको नक्सा प्रदान गरेको छ ।
यस्तै, सामाजिक उत्तर दायित्व अन्तरगत बैंकले सरस्वती माबिमा कक्षा १ देखि कक्षा १० मा अध्ययनरत गरिब तथा जेहेन्दार ३० छात्र/छात्रालाई कापी र कलम प्रदान गरेको सरस्वती माबिका प्रअ नविन चाम्लिङले जानकारी दिए । कार्यक्रम विव्यासका ज्येष्ठ सदस्य केशव श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
