शनिवार, मंसिर ४ २०७८
नेपाल वाइड
खोटाङ । ४ मंसिर, खोटाङको केपिलासगढी गाउँपालिकामा बैदेसिक रोजगारीबाट फर्किएका रिटर्नीका लागि सुरक्षित आप्रवासन सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
बैदेसिक रोजगारलाई सुरक्षित, भरपर्दो र उपलव्धीमुलक बनाउनमा सघाउ पुर्याउने लक्ष्यका साथ रिटर्नीलाई सहभागी गराएर सुरक्षित आप्रवासन सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
केपिलासगढी गाउँपालिकाको नेतृत्व र हेल्भेटास नेपालको प्राबिधिक सहयोगमा बालसेवा समाज नेपालद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले बिदेशबाट फर्किएका रिटर्नीका लागि सुरक्षित आप्रवासन सम्बन्धी कार्यक्रम गरेको हो ।
कार्यक्रममा बैदेसिक रोजगारीका क्रममा हुने/भइरहेका समस्या, ठगी, अवसर, स्वरोजगारका सम्भावना लगायतका वियायमा छलफल गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए ।
अभिमुखिकरण कार्यक्रममा भेला भएका रिटर्नीले पालिका स्तरिय आप्रवासी कामदार हकहित संरक्षण सञ्जाल गठन गरेको छ । बैदेशिक रोजगारीमा जाने तथा गइसकेका व्यक्तिका परिवारको हकहितमा काम गर्नका लागि रिटर्नी डाकमणी तामाङको अध्यक्षतमा १३ सदस्यीय पालिका स्तरिय आप्रवासी कामदार हकहित संरक्षण सञ्जाल गठन गरिएको हो ।
सञ्जालले केपिलासगढी गाउँपालिकाबाट बिदेश जाने तयारी गरेका तथा गइसकेका व्यक्तिका सम्पूर्ण कागजातको फोटोकपी संकलन गरेर सम्वन्धित व्यक्तिको घरमा सुरक्षित गर्न अभियान सञ्चालन गर्ने, विदेश जाने निर्णय गरिसकेका युवा/युवतीलाई अनिवार्य सीप सिकेर मात्र विदेश जानका लागि प्रोत्साहित गर्ने लगायतका निर्णय गरेको छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष हिराकुमारी वनले वैदेसिक रोजगारलाई उपलव्धीमुलक बनाउने अभियानमा हातेमालो गर्न आग्रह गरेकी छन् ।
यसअघि जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र खोटेहाङ गाउँपालिकामा पालिका स्तरिय आप्रवासी कामदार हकहित संरक्षण सञ्जाल गठन गरिसकिएको छ ।
जिल्लामा रिटर्नीको जिल्ला स्तरिय सञ्जाल समेत विस्तार भइसकेको छ । जिल्ला स्तरिय सञ्जालले रिटर्नीको सहभागीतामा क्रमशः पालिका स्तरिय सञ्जाल विस्तार गर्ने परियोजनाका संयोजक राईले बताए ।