बिहिवार, फाल्गुण ६ २०७७
नेपाल वाइड
काठमाडौं । वर्ल्डलिंकले गैरकानुनी रुपमा नेटटीभी चलाएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी परेको छ । नेपाल केबल टेलिभिजन महासंघका अनुसार वर्ल्डलिंकले सञ्चार मन्त्रालयबाट प्रशारणको अनुमति नै नलिइ अवैध रुपमा टीभी सञ्चालन गरेको हो ।आईपीटीभीको लाइसेन्स सेटअप बक्सको माध्यमबाट मात्रै टीभी प्रशारण गर्न पाउने कानुन रहेको जानकारी गराउँदै महासंघले गैरकानुनी प्रशारण बन्द गरिनुपर्ने माग गरेको हो ।
नेटटीभीले सेटअप बक्ससँगै ओटीटीमार्फत अर्थात् मोबाइल एपमा टीभी देखाउने व्यवस्था कानुनबमोजिम नरहेको महासंघका महासचिव मनोज गुरुङ बताउँछन् । गुरुङले बाह्रखरीसँग भने, “सरकारबाट अनुमति नै नलिइ काम गरेपछि कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छौं ।”वर्ल्डलिंकले प्रशारणको अनुमति नलिइ चलाउने नपाउने दाबी उनको छ । “दूरसञ्चार प्राधिकरको लाइसेन्सका आधारमा टीभी चलाइएको छ,” उनले भने “जबकि प्रशारणको अनुमतिपत्र सञ्चार मन्त्रालयले दिनुपर्ने हो ।” नेटटीभी आईपीटीभी हो ।
यो सेटअप बक्सको माध्यमबाट सञ्चालन हुने गरेको छ भने मोबाइल एप्समार्फत पनि नेटटीभी हेर्न सकिन्छ । मोबाइल एप्समार्फत् टीभी प्रशारणको कानुन नै नबनेको उनको दाबी छ । सरकारले एनआईटीभी स्ट्रिम्न प्रालिलाई वि.सं. २०७१ मा आईपीटीभी सञ्चालन गर्ने इजाजत दिएको थियो । इजाजतपत्रअनुसार सो कम्पनीले सेटटप बक्सबाट मात्र टेलिभिजन प्रसारण गर्न पाउँछ ।
महासंघका अनुसार सो कम्पनीले अहिले डाउनलिंक अनुमति प्राप्त नभएका च्यानल, सेन्सर नै नगरिएका नेपाली तथा विदेशी चलचित्र र कार्यक्रम तथा भिडियो अन डिमान्डअन्तर्गत मोबाइल सेटमा हेर्न मिल्नेगरी गैरकानुनी रुपबाट प्रसारण गरिरहेको छ । सो कम्पनीले अहिले आफूले स्थापना गरेको डिजिटल प्रसारण केन्द्रबाट सिग्नल वर्ल्डलिंकलाई प्रदान गरेको छ र, वर्ल्डलिंकले आफ्ना इन्टरनेटका ग्राहकलाई प्रसारण गर्दै आएको छ ।