शुक्रवार, आषाढ २७ २०८२
नेपाल वाइड
खोटाङ, २७ असार । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । पालिकाको प्रशासनिक भवन शुक्रबार पालिका अध्यक्ष गिरेन्द्र बहादुर राई र उपाध्यक्ष राजेशराज भण्डारीले संयुक्त रुपमा उद्घघाटन गरेपछि सेवा प्रवाह सुरु गरेको हो । गाउँपालिका स्थापनाकालदेखि ऐसेलुखर्कबजारस्थित स्थानियको भाडाको घरमा सञ्चालन हुँदै आएको थियो ।
गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह शुरु गरेपछि नागरिकलाई सेवा लिन सहज भएको छ । दुई करोड ३० लाख लागतमा निर्माण सम्पन्न भएको पालिकाको प्रशासनिक भवन निर्माणमा पाँच वर्ष दुई महिना लागेको छ । निर्माण शुरु गरेको पाँच वर्ष दुई महिनापछि सम्पन्न भएको प्रशासनिक भवन शुक्रबार गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले औपचारिकरुपमा उद्घघाटन गरेर सेवा प्रवाहको शुभारम्भ गर्नुभएको छ ।
१४ कोठे दुईतले प्रशासनिक भवनको अन्तिम तलामा फलामे ट्रससहित जस्तापाताको छाना हालिएको छ । भवन उद्घघाटन तथा प्रशासनिक सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले ढिलै भएपनि गाउँपालिकाको आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गरिएसँगै आर्थिक भारबाट जोगिएको जानकारी दिए ।
उनले भने, “प्रशासनिक भवन निर्माणमा निक्कै झमेला खेप्नुपर्यो । शुरुको स्टिमेट फेरबदल गरेर पुनः अर्को स्टिमेटअनुसार भवन निर्माण गरिएको छ, ठेकेदारको लापरबाहीले आरसिसी ढलानसहितको तीनतले प्रशासनिक भवनलाई दुईतलामा सीमित गर्न बाध्य भयौँ । ढिलै भएपनि गाउँपालिकाको आफ्नै प्रशासनिक भवन सञ्चालनमा ल्याएका छौँ ।” २०७७ जेठ १३ गते ठेक्का सम्झौता गरेर निर्माण शुरु गरिएको प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरबाहीले सम्पन्न गर्न ढिलाइ भएको गाउँपालिकाले जनाएको छ ।
निर्माणाधीन अवस्थामा ठेकेदार कम्पनीले नक्कली रिपोर्ट प्रतिवेदन बनाएर पहिलो चरणको रकम भुक्तानीका लागि गाउँपालिकामा बिल बुझाएको खुलेपछि गाउँपालिकाले ठेक्का सम्झौता रद्द गरेको थियो । प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण शुरु गरिएको प्रशासनिक भवनका लागि गाउँपालिकाले तीन करोड ६९ लाख ८५ हजार ८७३ को लागत अनुमान गरेको थियो । तर, ठेकेदार कम्पनीले मूल्य अभिवृद्धि करसहित दुई करोड ६८ लाख ४३ हजार ३४६ मा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी सम्झौता गरेको थियो ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले प्रशासनिक भवनको संरचना निर्माणका क्रममा ठेकेदार कम्पनीले सम्झौता अनुसारको गुणस्तर कायम नगरेको औँल्याएपछि गाउँपालिकाले ठेक्का सम्झौता रद्द गरेको थियो । ठेकेदार कम्पनीसँगको सम्झैता रद्द गरिएपछि निर्माणाधीन अवस्थामै अलपत्र परेको प्रशासनिक भवन सम्पन्न गर्नका लागि नेपाल मध्यस्थता परिषद (नेप्का)मा भएको पटक–पटकको छलफलपछि २०८० पुस ४ गते पुनः सम्झौता गरेर अगाडि बढ्नेगरी दुई पक्षीय सहमति भएको थियो ।
सहमतिअनुसार २०८० फागुन १० गते पुनः सम्झौता गरेर निर्माणको काम शुरु गरिएको थियो । भाडाको घरबाट आफ्नै प्रशासनिक भवनमा सरेर सेवा सुचारु गरिएपछि गुणस्तरीय सेवा प्रवाहमा सहजता आउनुकासाथै वर्षेनी पालिकामा थपिने आर्थिक भारसमेत सधैका लागि टरेको पालिका अध्यक्ष राईले बताए ।