सोमवार, माघ ८ २०८०
दमन राई
खोटाङ, ८ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा बनाइएको दुई कोठे पक्की भवन प्रयोग विहिन बनेको छ । नगरपालिकाकै अनुदानमा २०७७ सालमा बनाइएको दुई कोठा भएको दुई तले भवन विद्यालयलाई हस्तान्तरण नहुँदा प्रयोग विहिन बनेको हो । बने यता ताला लागेको भवन प्रयोगमा ल्याउन हालसम्म कसैको चासो नगएको स्थानीय बताउँछन् ।
विद्यालयलाई ई–लाइब्रेरी र आइसिटि कक्षा सञ्चालनका लागि कोठा अभाव भइरहँदा दुई कोठे पक्की भवन भने उपयोग विहिन छ । नगरपालिकाले टेण्डर आव्हान गरेर निर्माण गरिएको भवनलाई वर्षामा खसेको भित्ताले पुरेको छ । पहिरोका रुपमा खसेको भित्ताले झ्याल फोडेर कोठाभित्रै ढुंगामाटो थुप्रिएको शिक्षक मिनकुमार दाहालले बताए । सम्झौता अनुसार झ्यालको ‘फिनिसिङ’ गर्न बाँकी छँदै भवनलाई पहिरोले थिचेको स्थानीय बताउँछन् ।

यस्तै, २०६२/०६३ तिर बनाइएको दुई/दुई कोठा भएको दुई वटा कच्ची भवन प्रयोग नै नगरी जिर्ण बनेको छ । प्लस टु पठन–पाठन गर्नेगरी तत्कालिन जिल्ला विकास समितिको ५ लाख र तत्कालिन गाबिसको ३ लाखमा बनाइएको भवन जिर्ण बनेको हो ।
विद्यालयभन्दा केही तल बनाइएको सो भवनलाई झाडीले ढाकिसकेको छ । प्लस टुको कक्षा सञ्चालनका लागि सँगै जोडेर दुई वटा भवन बनाइए तर प्लस टु सञ्चालन बारे पर्याप्त पहल कदमी भएन । यही कारण सो भवन बनाउने नाममा राज्यको रकम अनाहकमा खर्च मात्रै भएको हो ।

आर्थिक वर्ष २०७१/०७२ मा शितला माबिमा २ लाख ५० हजार खर्च गरेर दुई कोठे शौचालय बनाइएको थियो । विद्यालयको पश्चिम–उत्तरमा बनाइएको शौचालय प्रयोगमा नआउँदै जिर्ण बनिसकेको छ ।
यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भएको ४ लाखमा बनाइएको शौचालयको अवस्था उस्तै हालत छ । बजेट प्राप्त भए पनि झण्डै एक वर्षसम्म शौचालय निर्माणको काम अघि बढेन । २०७४ साल फागुनमा डिल्ली चाम्लिङलाई शौचालय बनाउने जिम्मा दिइयो ।
शौचालय बनाउँदा बनाउँदै चाम्लिङ वडाध्यक्षको चुनावमा होमिए, वडाध्यक्षमा विजयी भए । तर शौचालय निर्माणको कामले भने पूर्णता पाउन सकेन । २०७९ मा निर्वाचित वडाध्यक्ष खगेन्द्र राईले अधुरो रहेको सो शौचालयलाई सम्पन्न गरेर प्रयोगमा ल्याइए तर हाल कक्षा ९ र १० मा दुर्गन्ध आउने गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत शितला माबिलाई दुई कोठे भवन निर्माणका लागि १८ लाख प्राप्त भएको थियो । भवन बनाउनका लागि विद्यालयले निर्माण व्यवसायीलाई कुल अनुदान रकमको ३० प्रतिशत पेश्की दिइसकेको छ तर हालसम्म भवन बनाउने सुरसार छैन । दुई कोठे कोठे भवन निर्माणका लागि २०७८ बैसाख २६ गते विद्यालयसँग सम्झौता भएको थियो ।
नगरपालिकाले भवन निर्माणको प्रगति विवरण प्रमाण सहित ३ दिनभित्र पेश गर्न वा काम नभएको भए निकासा भएको रकम प्रचलित कानुन बमोजिम लाग्ने सुद रकम समेत बेरुजु खातामा जम्मा गरी पेश्की फछ्र्यौट गर्न भन्दै गत साउन १७ गते विद्यालयलाई पत्राचार गरेको थियो ।

तर विद्यालयले दिइएको तीन दिनभित्र कुनै प्रतिक्रिया पठाउन सकेन । त्यसपछि नगरपालिकाले पुःन साउन २५ गते अर्को पत्र पठाउँदै नियम अनुसार निकासा भएको रकम प्रचलित कानुन बमोजिम लाग्ने सुद रकम समेत बेरुजु खातामा जम्मा गरी पेश्की फछ्र्यौट गर्नका लागि ताकेता गरेको थियो । विद्यालयसम्म जाने सडकका विषयमा बिवाद हुँदा बेलामा भवन निर्माणको काम हुन नसकेको वडाध्यक्ष राईले बताए । ‘अहिले अर्कोतिरबाट विद्यालय पुग्ने बाटो खन्ने काम भएको छ,’ वडाध्यक्ष राईले भने, ‘निर्माण उपभोक्ता समितिमार्फत काम हुने हो । अव दुई महिनामा काम सक्छ ।’

२०१८ सालमा स्थापना भएको विद्यालयले हाल ६ वटा पुराना कच्ची भवन प्रयोग गरिरहेको छ । ती सबै भवन जिर्ण बन्दैगएको छ । उपयुक्त कोठा अभावमा कप्यूटर कक्षा धुलाम्मे हुने गरेको छ । कप्यूटरलाई धुलोबाट जोगाउन हम्मे परिरहेको शिक्षक दाहाल बताउँछन् ।
तत्कालका लागि इ–लाइब्रेरी र आइसिटि कक्षाका लागि भवन आवश्यक छ । तर भवनका लागि बजेट माग्दा जाँदा ‘पुरानो योजनाको फछ्र्यौट भएको छैन, नयाँ योजना दिन मिल्दैन’ भन्दै योजनाबाट बञ्चित गराउने गरिएको छ । यद्यपी, विद्यालय व्यवस्थापन समितिको गत कात्तिक २३ गतेको बैठकले १२ कोठे भवन निर्माणका लागि बजेट माग गर्ने निर्णय गरेको छ ।
यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बेरुजु फछ्र्यौटका लागि शितला माबिलाई पत्राचार गरेको छ । आर्थिक वर्ष २०७१/०७२ मा शौचालय निर्माणका लागि दिइएको २ लाख ५० हजार, आर्थिक वर्ष २०७२/०७३ मा साधारण शौचालयका लागि दिइएको ४ लाख, आर्थिक वर्ष २०७३/०७४ मा ट्रष्ट मर्मतका लागि गएको प्राप्त ५ लाख ६० हजार, सोही आर्थिक वर्ष विज्ञान अंग्रेजी प्रयोगशाला व्यवस्थापनका लागि दिइएको १ लाख ५० हजार र आर्थिक वर्ष २०६९/०७० मा मर्मतका लागि दिइएको ५० हजार फछ्र्यौटका लागि पत्राचार गरेको हो । नगरपालिकाले मंसिर २५ गतेभित्र बेरुजु फछ्र्यौट सक्न भन्दै मंसिर ८ गते पत्राचार गरेको थियो तर हालसम्म फछ्र्यौटको काम हुन सकेको छैन ।
विभिन्न योजनाहरु फछ्र्यौट नगरेकाले महालेखाले बेरुजु देखाएको तथा ती योजनाको रकम सम्परीक्षण गराउनका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट ताकेता भएको भन्दै शिक्षा विकास तथा समन्वय इकाई, खोटाङले मंसिर ७ गते नगरपालिकालाई पत्र पठाएको थियो ।
केही समयअघि मात्रै प्रअ बनेका श्यामबिक्रम थापाले बेरुजुको धेरै विषय आफुलाई थाहा नभएको बताए । ‘म त भर्खरै प्रअ भएको हुँ । धेरै हिसाव किताव थाहा छैन,’ प्रअ थापाले भने, ‘बेरुजु फछ्र्यौटको पत्र निवर्तमान प्रअ कृष्णप्रसाद सरलाई मेसेञ्जरमार्फत फरवार्ड गर्देको छु । वडा कार्यालय र नगरपालिकालाई बोधार्थ पठाएको छु ।’
