शुक्रवार, पौष २७ २०८०
नेपाल वाइड
खोटाङ, २७ पुस । शसस्त्र द्धन्द्धका क्रममा खोटाङका माओवादी नेता ठूलकुमार श्रेष्ठले सहादत प्राप्त गरेको २६ वर्ष पुगेको छ । तत्कालिन नेकपा माओबादीका जिल्ला सदस्य रहेका ठूलकुमार शसस्त्र द्धन्द्धका बेला खोटाङबाट ज्यान गुमाउने पहिलो व्यक्ति हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका ठूलकुमारको २०५५ साल पुस २७ गते उदयपुरको तावाश्रीमा हत्या गरिएको थियो । पार्टीको कामको सिलसिलामा हिँडिरहेको बेला सुरक्षाकर्मीले गोली हानेर ठूलकुमार सहित तीन जनको हत्या गरेको थियो ।
जिल्लामा नेकपा माओवादीको अभिभावकका रुपमा रहेका श्रेष्ठलाई आफ्ना नेता तथा कार्यकर्ताले ‘ठूलदाई’ भनेर सम्बोधन गर्ने गरेका थिए । श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ता खोटाङबाट कटारीतर्फ जानेक्रममा सुरक्षाकर्मीको पञ्जामा फसेका थिए ।
तावाश्रीको एउटा पसलमा केही खानेकुरा किन्न जाँदा पहिल्यै बाटो ढुकेर बसिरहेका सुरक्षाकर्मीले गोली चलाउँदा ठूलकुमार सहित सिन्धुलीका चतुरमान र वसन्त श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको थियो । ठूलकुमार जनयुद्धमा भूमिगत हुनुअगाडि कालिका माबिका शिक्षक थिए । श्रेष्ठ साहित्य सिर्जना, गीतसंगीत र अभिनयमा समेत निपुण रहेको प्राध्यापक डा. धनप्रसाद सुवेदीको ‘खोटाङ जिल्लाः विगत र वर्तमान’मा उल्लेख छ ।

शसस्त्र द्धन्द्धकाक्रममा खोटाङबाट पहिलोपल्ट सहादत प्राप्त गर्ने ठूलकुमारको स्मरण गरिएको छ । शुक्रबार नेकपा माओवादीको दिक्तेलस्थित पार्टी कार्यालयमा आयोजित ठूलकुमार श्रेष्ठको २६ औं स्मृति दिवस तथा दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानको प्रथम सम्मेलन तथा छैठौं साधारणसभामा ठूलकुमारको योगदानको स्मरण गरिएको हो ।
प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले शहीद ठूलकुमारको तस्बीरमा माल्यार्पण गरेका थिए । प्रतिनिधिसभा सदस्य राईले शहीद ठूलकुमारको सपना विर्सन नहुनेमा जोड दिएका छन् ।
