आइतवार, पौष १ २०८०
नेपाल वाइड
खोटाङ, १ पुस । भवन अभावमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित साकेला आधारभुत विद्यालयले एउटै कोठामा दुई वटा कक्षाका विद्यार्थी राखेर पठन–पाठन गर्दैआएको छ । आवश्यक भवन अभावमा विद्यालयको एउटा कोठामा दुई वटा कक्षाका विद्यार्थीलाई सँगै राखेर पठन–पाठन गर्ने गरिएको छ ।
पर्याप्त भवन नहुँदा कक्षा २ र कक्षा ३ का विद्यार्थीलाई एउटा कोठामा तथा कक्षा ४ र कक्षा ५ का विद्यार्थीलाई एउटा कोठामा राखेर पठन–पाठन गर्ने गरिएको विद्यालयका प्रअ कमलप्रसाद रिजालले बताए । कक्षा १ का विद्यार्थीलाई भने छुट्टै कोठामा राखेर पढाउने गरिएको छ । अधिकांश कक्षामा एक जनादेखि दुई जना मात्रै विद्यार्थी भएका कारण खप्ट्याएर बहुकक्षा शिक्षणको व्यवस्था मिलाइएको हो ।
२०४९ सालमा स्थापना गरिएको विद्यालयको एउटा कच्ची र एउटा ट्रस वटा भवन छन् । विद्यालयको दुई कोठे कच्ची भवनलाई पाटेसन गरेर तीन कोठे बनाइएको छ । तीन कोठामध्ये एउटा कोठामा कार्यालय, एक कोठामा कम्प्युटर कक्षा र एउटा कोठालाई स्टोरका रुपमा प्रयोग गरिएको छ ।
यस्तै, दुई कोठे ट्रस भवनलाई पनि पाटेसन गरेर तीन कोठे बनाइएको छ । त्यसमध्ये एउटा कोठामा कक्षा १ का विद्यार्थीलाई राखिएको छ । अर्को एउटा कोठामा कक्षा २ र कक्षा ३ तथा अर्को कोठामा कक्षा ४ र कक्षा ५ का विद्यार्थीलाई राखेर पठन–पाठन गर्ने गरिएको प्रअ रिजालले बताए । । ‘एकैठाउँमा राखेर बहुकक्षा शिक्षण गर्दा पठन–पाठनमा त अशर पर्छ नै । तथापी हाम्रो वाध्यता छ,’ प्रअ रिजालले भने, ‘फर्नीचर प्रशस्त भएकाले फरक–फरक साइडमा दुरी कायम राखेर पढाउने गरिएको छ ।’

साकेला आधारभुत विद्यालयमा हाल ११ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १ मा ५ जना, कक्षा २ मा १ जना, कक्षा ३ मा १ जना, कक्षा ४ मा २ जना र कक्षा ५ मा २ जना विद्यार्थी छन् । तर प्रायः विद्यार्थी नियमित आउने गरेका छन् ।
विद्यालयमा एक स्थायी, एक अस्थायी शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत छन् । साकेला आधारभुत विद्यालयले विद्यार्थीलाई कम्प्यूटर कक्षामा प्रोजेक्टरमार्फत पनि पढाउने गरेको छ । प्रोजेक्टरमार्फत भित्तामा देखाइने दृश्यामा विद्यार्थी झुम्मिने गरेका छन् ।
निवर्तमान मेयर दिपनारायण रिजाल, वर्तमान मेयर तीर्थराज भट्टराई लगायतका जनप्रतिनिधि साकेला आधारभुत विद्यालयको भौतिक अवस्था बारे जानकार छन् । नेर्पा पुग्ने जनप्रतिनिधिले भवन बनाउने आश्वसन पनि दिए तर हालसम्म विद्यालयको भवन बन्न सकेको छैन ।
विगतमा पक्की भवन माग गर्दा विद्यार्थी संख्या कम भएको भन्दै भवनबाट बञ्चित गराइएको प्रअ रिजाल बताउँछन् । पुःन वडा परिषदबाट योजना सिफारिस गरेर नगरपालिका समक्ष विद्यालय भवन निर्माणका लागि बजेट माग गर्ने योजना बनाइएको छ ।