बिहिवार, मंसिर २८ २०८०
नेपाल वाइड
खोटाङ, २८ मंसिर । प्रदेस नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति खोटाङले सडक बन्द गर्नेक्रममा पक्राउ परेका पुर्व मन्त्री गोपाल किराती सहित पाँच पहिचानवादी नेताको बिनाशर्त रिहाइको माग गरेको छ ।
संयुक्त संघर्ष समितिले बिहिबार प्रेस विज्ञाप्ती जारी गर्दै मंसिर २६ गते पक्राउ परेका पुर्व मन्त्री किराती, जनता समाजवादी पार्टी खोटाङका सचिवालय सदस्य राजेश राई, गन्धमान राई, नेपाल आदिवासी जनजाति महासंघ, खोटाङका सचिव उदिम चाम्लिङ र वाईसीएलका हलेसी तुवाचुङ नगर कमिटि इन्चार्ज विजय राईलाई बिनाशर्त रिहाइ गर्न माग गरेका हुन् ।
नेकपा (एमाले)ले शुरू गरेको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई लक्षित गर्दै मध्यपहाडी राजमार्ग बन्द गराएको अभियोगमा पाँच पहिचानवादी नेता पक्राउ परेका थिए ।
पहिचान पक्षधरको आग्रहलाई बेवास्ता गरे जस्तोसुकै आन्दोलन घोषणा गर्न वाध्य हुने संघर्ष समितिका सदस्य सचिव एलबी मगरले जानकारी दिए ।
‘पाँच जनालाई विना प्रमाण, विना कारण झुटो मुद्धा लगाइ प्रहरी हिरासतमा राखेको छ,’ विज्ञाप्तीमा भनिएको छ, ‘पहिचानवादी नेताहरूलाई तत्काल विनाशर्त रिहाइ गर्न हार्दिक अनुरोध गर्दछौँ ।’ समृद्धिका लागि संकल्प यात्राका क्रममा एमालेले मंसिर २६ गते ओखलढुंगाको हर्कपुरमा सभा आयोजना गरेको थियो ।
प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पनि सोही दिनदेखि अनिश्चितकालीन घुर्मी (उदयपुर)–लेगुवाघाट (धनकुटा) सडक बन्द आह्वान गरेको थियो ।
बन्द सफल बनाउन रुख ढालेर राजमार्गमा सवारी आवागमनमा अवरोध गरेको, सडकमा शंकास्पद वस्तु राखेर शान्ति सुरक्षालाई चुनौती दिएको भन्दै प्रहरीले पहिचान आन्दोलनका पाँच अभियन्तालाई पक्राउ गरेको थियो ।
पहिचान पक्षधर समुहले पाँच जनाको बिना शर्त रिहाइको माग गरिरहेका बेला प्रहरीले मंसिर २७ गते म्याद थप गरेको छ । पहिचान पक्षधर पार्टी तथा जातीय संगठन पुनः नामांकन संयुक्त संघर्ष समितिमा संगठित भएर प्रदेशको नामांकनको विषयमा विमति राख्दै आन्दोलनरत छन् ।
उनीहरुले कोशी नामकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान विरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेता योगेश भट्टराई र महेश बस्नेत लक्ष्यित विरोधका कार्यक्रम गरिरहेको छ ।