Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पुर्व मन्त्री गोपाल किराती सहित पाँच जना विरुद्ध पाँच दिनको म्याद थप

    पुर्व मन्त्री गोपाल किराती सहित पाँच जना विरुद्ध पाँच दिनको म्याद थप


    • बिहिवार, मंसिर २८ २०८०

    • नेपाल वाइड


    पुर्व मन्त्री गोपाल किराती सहित पाँच जना विरुद्ध पाँच दिनको म्याद थप
    प्रदेश नम्बर १ पुःन नामांकन संयुक्त संघर्ष समिति खोटाङले मंसिर २२ गते दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व मन्त्री गोपाल किराती । तस्बीरः दमन राई

    खोटाङ, २८ मंसिर । खोटाङमा सडक बन्दका क्रममा पक्राउ परेका पुर्व मन्त्री गोपाल किराती सहित पाँच पहिचानवादी नेता विरुद्ध अभद्र व्यवहार सम्वन्धी पाँच दिनको म्याद थप भएको छ ।

    नेकपा (एमाले)ले शुरू गरेको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई लक्षित गर्दै मध्यपहाडी राजमार्ग बन्द गराएको अभियोगमा मंसिर २६ गते पक्राउ परेका पूर्व मन्त्री किराती, जनता समाजवादी पार्टी खोटाङका सचिवालय सदस्य राजेश राई, गन्धमान राई, नेपाल आदिवासी जनजाति महासंघ, खोटाङका सचिव उदिम चाम्लिङ र वाईसीएलका हलेसी तुवाचुङ नगर कमिटि इन्चार्ज विजय राई बिरुद्ध अभद्र व्यवहार सम्वन्धी पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । पहिचान पक्षधरले पाँच जनाको बिना शर्त रिहाइको माग गरिरहेका बेला प्रहरीले मंसिर २७ गते म्याद थप गरेको हो ।

    समृद्धिका लागि संकल्प यात्राका क्रममा एमालेले मंसिर २६ गते ओखलढुंगाको हर्कपुरमा सभा आयोजना गरेको थियो । प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पनि सोही दिनदेखि अनिश्चितकालीन घुर्मी (उदयपुर)–लेगुवाघाट (धनकुटा) सडक बन्द आह्वान गरेको थियो । बन्द सफल बनाउन रुख ढालेर राजमार्गमा सवारी आवागमनमा अवरोध गरेको, सडकमा शंकास्पद वस्तु राखेर शान्ति सुरक्षालाई चुनौती दिएकाले पहिचान आन्दोलनका पाँच अभियन्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पहिचान पक्षधर पार्टी तथा जातीय संगठन पुनः नामांकन संयुक्त संघर्ष समितिमा संगठित भएर प्रदेशको नामांकनको विषयमा विमति राख्दै आन्दोलनरत छन् । उनीहरुले कोशी नामकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान विरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेता योगेश भट्टराई र महेश बस्नेत लक्ष्यित विरोधका कार्यक्रम गरिरहेको छ ।

    पक्राउ परेका पाँच जनाको रिहाइका लागि मंसिर २७ गते बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), राप्रपा र नेपाल कम्यूनिष्ट पार्टीको बैठकले बिना शर्त रिहा गराउने निर्णय गरेको थियो ।

    प्रदेशका मूख्यमन्त्रीले पहिचान पक्षधरसँग संवाद, वार्ता र सहमतीय ढंगबाट प्रदेशको अन्यौल, अस्थिरता, अराजकता र सरकारी दमनलाई सदाका लागि अन्त्याको मार्ग अख्तियार गर्नुपर्ने कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले बताए ।

    सम्बन्धित समाचार