बुधवार, श्रावण १७ २०८०
नेपाल वाइड
खोटाङ, १७ साउन । कोसी प्रदेशमा ओखलढुंगाबाट दुई जना मन्त्री बनेका छन् । प्रदेशका १४ जिल्लामध्ये ओखलढुंगा (क)का प्रदीप सुनुवार र ओखलढुंगा (ख)का बाबुराम गौतम मन्त्री बनेका हुन् । सत्तारुढ गठबन्धनबाट बुधबार उद्धव थापा नेतृत्वको सरकारमा पठाइएका तीन मध्ये दुई जना ओखलढुंगाबाट परेका हुन् ।
यसअघि सभामुख रहेका गौतम आर्थिक मामिला तथा योजना र प्रदेश मन्त्री नै रहेका सुनुवार खानेपानी, सिँचाई तथा उर्जा मन्त्री बने बनेका छन् । गौतम नेकपा माओवादी केन्द्र र सुनुवार कांग्रेसबाट मन्त्रीमा सिफारिस भएका हुन् ।
उनीहरुसँगै नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगुले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री थापा र तीन मन्त्रीले बुधबार साँझ शपथ ग्रहण गरेका छन् ।