शुक्रवार, जेठ १९ २०८०
नेपाल वाइड
खोटाङ, १९ जेठ । संसद छलेर नागरिकता विधेयक प्रमाणीकरण गरेको बिरोधमा अनेरास्वबियु खोटाङले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद छलेर अवैधानिक तरिकाले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमाले निकट अनेरास्वबियुले शुक्रबार साँझ दिक्तेलमा राँके जुलुस प्रदर्शनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेका हुन् ।
नागरिकता विधेयक खारेजीको माग गर्दै अनेरास्वबियुले पुष्पलाल स्मृति भवनदेखि दिक्तेलको त्रिबेणीचोकसम्म राँके जुलुस प्रदर्शन गरेको थियो । मसाल जुलुसले त्रिबेणीचोक पुग्नेबेला प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका थिए ।
मसाल जुलुस प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नाराबाजी गरेका थिए । मसाल जुलुस र पुत्ला दहनपछि त्रिबेणीचोकमा भएको कोणसभालाई अनेरास्वबियु खोटाङका अध्यक्ष मोहन संग्राम र राष्ट्रिय युवा संघ खोटाङका अध्यक्ष रोशन चाम्लिङले सम्बोधन गरेका थिए । त्रिबेणीचोकमा प्रदर्शनकारी र प्रहरीबिचमा मसाल खोसाखोस चलेको थियो ।
