शुक्रवार, जेठ १९ २०८०
नेपाल वाइड
खोटाङ, १९ जेठ । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणलाई सद्भावना भ्रमणको अर्थमा बुझ्न आग्रह गरेका छन् ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको मावि तहको दुई दिने पार्टी स्कुल कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पोखरेलले भ्रमणलाई धेरै हौसिने वा नकरात्मक ढंगले प्रस्तुत नगर्न आग्रह गरे ।
“हाम्र्रो छिमेकीहरुसँगको सम्वन्धलाई अत्यान्तै महत्व सहित अगाडि बढाएर मात्रै हामी अगाडि बढ्न सक्छौँ,” पोखरेलले भने, “यो पक्षलाई हेरेर प्रधानमन्त्री भारत भ्रमणमा जानुभएको छ । म त्यसलाई वस्तुनिष्ठढंगले मूल्यांकन गर्न आग्रह गर्न चाहन्छु ।”
उपमहासचिव पोखरेलले भ्रष्टाचार बिरुद्ध सशक्त अभियान जरुरी रहेको बताएका छन् । विकास प्रकृया, राजनीतिक प्रकृया र समाजको लोकतान्त्रिकरणको प्रकृयालाई अगाढि बढाउन भ्रष्टाचार एकदमै घातक रोगको रुपमा देखा परेको उल्लेख गर्दै उनले भ्रष्ट मानसिकता विरुद्ध भित्रबाहिर सबैतिर सघर्ष गर्न जरुरी रहेको औंल्याएका हुन् ।
“भ्रष्टाचार बिरुद्ध एउाट शसक्त अभियान जरुरी छ । अहिलेको सरकारले भ्रष्टाचार विरुद्धमा कदम अगाडि बढाएको छ,” उनले भने, “अरु क्षेत्रमा देखा परेको भ्रष्टाचार विरुद्ध पनि सशक्त अभियान चलाउन आवश्यक छ । भ्रष्ट मानसिकता विरुद्ध भित्रबाहिर सबैतिर सघर्ष गर्न जरुरी छ ।”