बुधवार, चैत्र २९ २०७९
नेपाल वाइड
खोटाङ, २९ चैत । नेपाल नेत्र ज्योती संघ खोटाङको सभापतिमा पुःन इन्द्र कसजु दोहोरिएका छन् । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न पाँचौं जिल्लासभा तथा अधिबेसनबाट कसजु पुःन सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
२०७५ फागुन २५ गते सम्पन्न चौथो अधिबेसनबाट नेत्र ज्योती संघको सभापति चुनिएका कसजु पुःन यथास्थानमा दोहोरिएका हुन् । २०५४/०५५ सालदेखि आँखा उपचार शिबिरमा स्वयंसेवकका रुपमा खट्दैआएका कसजु २०६२ सालमा संघको आजीवन सदस्य बनेका थिए ।
१३ सदस्यीय नेत्र ज्योती संघको सदस्यमा सनमान खड्का, कमलप्रसाद आचार्य, रेखा राई, प्रेमकुमार श्रेष्ठ, गीता शंकर, मणिशोभा राई, लक्ष्मीदास श्रेष्ठ, विन्दा बस्नेत थापा, यादब श्रेष्ठ, पुष्पा राई र लेखबहादुर खड्का (विनोद) सर्वसम्मत चयन भएका छन् ।
जिल्लासभा तथा अधिबेसन प्रमुख अतिथिका रुपमा संघका केन्द्रिय महासचिव भरतबहादुर चन्द, विशिष्ट अतिथिका रुमिा प्रदेश सभापति एवं केन्द्रिय उपाध्यक्ष श्यामसुन्दर उदाश लगायतले उद्घाटन गरेका थिए । २०६० साल बैसाख १५ गते स्थापना गरिएको नेपाल नेत्र ज्योती संघमा हाल ९९ आजीवन सदस्य छन् ।

संघले दिक्तेल र हलेसीमा आँखा उपचार केन्द्र स्थापना गरी नियमित आँखा जाँच, औषधि वितरण तथा चश्मा वितरण एवं निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गर्दैआएको छ ।
विगत दुई वर्षको अवधिमा करिब ३० हजारको आँखा जाँच गरेर औषधि र चश्मा वितरण गर्नुका साथै दुई हजार पाँच सय बढीको मोतिविन्दुको अप्रेसन गरिएको सभापति कसजुले जानकारी दिए ।
संघले आँखा उपचार केन्द्रको सेवालाई स्तरवृद्धि गर्ने, भवनको तला थप गरी १० बेडको सेकेन्डरी बेस हस्पितलमा पुर्याउने तीन/तीन महिनामा अप्रेशन गर्नेगरी सर्जिकल सेन्टर बनाउने लगायतका १५ बुँदे भावी कार्यक्रम तय गरेको छ । अन्धोपन निवारण सर्भेक्षण अनुसार जिल्लामा शल्यक्रिया गर्नुपर्ने अवस्थाका विरामी एक हजार पाँच सयभन्दा बढी रहेको अनुमान छ ।
