खोटाङ, २८ चैत । खोटाङको जन्तेढुंगा गाउँपालिकामा गाईभैंसीमा लम्पी स्किन रोगको महामारी फैलिएको छ । गत माघ मसान्तदेखि गाउँपालिकाका सबै वडामा गाईभैंसीलाई लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिने रोग देखिएको हो ।
गाईभैंसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाइरहेको हुने, दुव्लाउँदै जाने, खुट्टा खोच्याउने, दुध उत्पादन घट्ने लगायतका लक्षण देखिने रोगको महामारी देखिएको गाउँपालिकाका पशु सेवा शाखाका डा. सुशन ढकालले बताए ।
जन्तेढुंगा गाउँपालिकाका ६ वटै वडाका किसानले पालेका गाईभैंसीमा लम्पी स्किन रोगको संक्रमण फैलिसकेको छ । हालसम्म लम्पी स्किन रोगको ठोस उपचार र भ्याक्सिन विकास नभएकाले लक्षण अनुसार औषधि उपचारको व्यवस्था मिलाइएको डा. ढकालले बताए ।
गाईभैंसीमा लागेको रोगको समस्या लिएर करिब सय जना किसान कार्यालयमा आइसकेको र आवश्यक औषधि तथा विषादि दिएर पठाएको गाउँपालिकाले जनाएको छ ।
कतिपय किसानलाई लम्पी स्किन सार्ने झिंगा, लामखुट्टे र किर्ना मार्ने विषादि वितरण गरिएको छ । विज्ञाका अनुशार लामखुट्टे, भुसुना, झिंगा आदिको टोकाईबाट गाईभैंसीमा लम्पी स्किन सर्ने गरेको छ । भारतबाट २०७७ सालमा मोरङ हुँदै हाल देशका सबैजसो जिल्लामा लम्पी स्किन रोगको प्रकोप फैलिसकेको छ ।