खोटाङ, २६ चैत । जिल्ला समन्वय समिति खोटाङको सातौं जिल्लासभाले सन्तुलित र दिगो विकासमा ध्यान दिने नीतिगत निर्णय गरेको छ । शनिबार सम्पन्न जिल्लासभाले जिल्लाका १० वटै स्थानीय तहको टोल तथा वस्तीहरुको मुहार फेर्नका लागि जनप्रतिनिधिले सन्तुलित र दिगो विकासमा ध्यान दिने नीतिगत निर्णय गरेको हो ।
गाउँसभाले अन्तर पालिका र अन्तर जिल्लाभित्रका योजना निर्माण सम्वन्धी १० बुँदे नीतिगत निर्णय गरेको छ । दिगो र सन्तुलित विकास लक्ष्यलाई आधार मानेर योजना बनाउने, सामाजिक न्यायमा आधारित योजनाहरु निर्माण गर्ने, वातावरणमैत्री आयोजना निर्माण गर्ने, अधिकतम रोजगारी श्रृजना हुने बहुवर्षीय आयोजना सञ्चालन गर्ने, शिक्षामा भएको लगानीलाई व्यवस्थित र वस्तुगत योजना वनाई गुणस्तर बृद्धि हुने खालको योजना बनाउने नीति तथा कार्यक्रम पारित गरेको छ ।
यस्तै, अदक्ष श्रमशक्तिलाई दक्ष बनाउने, सिपयुक्त वनाउने आयोजना सञ्चालन गर्ने, भौगोलिक र साँस्कृतिक पर्यटनको प्रवद्र्धन हुने खालका आयोजना वनाउने, भौतिक पूर्वाधारहरु कम र सम्पन्न हुने खालका आयोजना छनौट गर्ने, कृषि उपजको बजार र वितरणमा आधारित योजनहरु निर्माण गर्ने र अधिकतम स्थानीय श्रम परिचालन हुने योजना वनाउने नीतिगत निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए ।
गाउँसभामा गरिएको निर्णय आइतबार पत्रकार सम्मेलनमार्फत गरिएको हो । जिल्लासभामा मध्यपहाडी राजमार्ग अन्तर्गत जयरामघाट–हलेसी ९३५ किमी० सडक खण्डलाई मध्यपहाडी लोकमार्गको मापदण्डमा स्तरोन्नती गर्न सम्बन्धित मन्त्रालयमा माग गर्ने, जिल्लाभित्र निर्माणाधिन सडक, पुल यथाशिघ्र सम्पन्न गर्न सम्बन्धित निकायमा पहल गर्ने, मध्यपहाडी राजमार्गको सेखुवा–चखेवा खण्ड कालोपत्रेमा ढिलाई भएकोले सम्बन्धित निकायमा पहल गर्ने, महुरे–फोक्सिङटार–गाईघाट–दिक्तेल सडक खण्डको आयोजना वेवारिसे अवस्थामा रहेकोले चाँडो सम्पन्न गराउन सम्बन्धित निकायमा पहल लिने निर्णय गरिएको छ ।
यस्तै, दिक्तेल–साप्सुखोला–मात्तिम–टेम्मा–याम्खा–पञ्चमी–रोक्सिङ–खोटाङवजार हुँदै चिसापानी–मौवावोटे–बंशीलासम्मको सडक खण्डको स्तरोन्नती तथा कालोपत्रे गर्नको लागि सम्बन्धित मन्त्रालयमा पहल लिने, हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्ड कालोपत्रे गर्न माग गर्ने, जालपा–बाक्सिला सडक खण्डलाई कालोपत्रेको लागि माग गर्ने सोल्मा–पाथेका–फेदीसम्मको सडकलाई कालोपत्रेको लागि माग गर्ने, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय, सघन शहरी विकास प्रदेश र संघबाट सडक आयोजना कार्यालयहरु संघ र प्रदेशबाट सञ्चालित सडकहरु समयमा, गुणस्तरयुक्त रुपमा सम्पन्न गर्न सम्बन्धित निकायमा निर्देशन दिने निर्णय भएको छ ।
प्रमुख राईका अनुसार धाप्लाङ–धर्तुङ–चिसापानी–डम्वर्खुसिवालय–भञ्ज्याङखर्क सडक कालोपत्रेको लागि माग गर्ने, रसुवा–सिम्पानी–ईन्द्रेणी पोखरी–मुलडाँडा–पान्धारे सडक खण्ड कालोपत्रेको लागि माग गर्ने, साप्सुखोला– मानेभन्ज्याङ–पान्धारे सडक ग्राभेल भइ सकेको हुँदा कालोपत्रे गर्नका लागि माग गर्ने, खोटाङबजार–वाप्लुखा सावा– लिकुवा–पामाखाम भन्ज्याङ सडक स्तरोन्नतीको लागि माग गर्ने, जिल्लाभरी विद्युत सेवालाई गुणस्तरीय बनाउन विद्युत प्राधिकरणलाई माग गर्ने तथा जन्तेढुङ्गा र बाँकी पालिकाको सेवा विस्तार नभएका स्थानमा तुरुन्त विद्युत प्रसारण लाईन पुर्याउन माग गर्ने निर्णय भएको छ ।
यस्तै, सबै पालिकामा आभारभूत अस्पताल पुर्याउने, नेपाल सरकारको नीति भएकोले निर्माण र सञ्चालन हुन बाँकी पालिकामा तुरुन्त अस्पताल निर्माण र सञ्चालनको लागि माग गर्ने, जिल्ला अस्पताल खोटाङ र बाँकी रहेका पालिकाको आधारभूत अस्पतालमा स्वास्थ्यकर्मीको आवासगृह निर्माणको लागि माग गर्ने निर्णय गरिएको छ ।
जिल्ला सभाले पारित गरेका नीति तथा कार्यक्रमहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई ।
जिल्लासभाका अन्य निर्णयहरुः
– जिल्ला भरी विद्यालय भवनहरु निर्माण भईरहेको र बाँकी आवश्यक विद्यालयहरुमा भवन र भौतिक स्रोत साधनहरु उपलब्ध र निर्माणको लागि सर्वप्रथम शिक्षा मन्त्रालयमा माग गर्ने ।
– जिल्लामा संचालित विद्यालयहरुमा अपुग दरवन्दी धेरै भएकोले आवश्यकता र औचित्यताको आधारमा दरवन्दी थप गर्न सम्बन्धित मन्त्रालयमा माग गर्ने ।
– खोटाङ जिल्लालाई ग्रामीण औद्योगिक विकासको आधार निर्माण गर्न अध्ययन,सर्वेक्षण गरी प्रतिवेदन आईसकेकोले जिल्लामा हुर्लुङ–वाताल–हरेलोडाँडा
– तालखर्क–सोल्मा होस्मा टोललाई जिल्ला औद्योगिक ग्राम घोषणा गर्ने र औद्योगिक ग्राममा भौतिक पूर्वाधार र सञ्चालनको लागि सम्बन्धित मन्त्रालयमा माग गर्ने ।
– खोटाङ जिल्लामा पछिल्लो तिन दशक यता निकै द्रुत गतिमा विकासका चरणहरु अगाडी बढिरहेको र त्यस चरणका अभ्यास र उपकरणहरु संग्राहित गर्नुपर्ने र आउने पुस्तालाई अध्ययनको श्रोत बन्ने भएकोले खोटाङ जिल्लामा विकास संग्राहालय स्थापना गर्ने सम्बन्धित निकायहरुमा माग गर्ने ।
– संविधानले प्रत्याभूत गरेको मानव अधिकारलाई प्रवर्द्धन गर्न खोटाङ जिल्लामा कार्यालय रहेको र मानव अधिकार कार्यालयको आफ्नै जग्गा भएको कारण भवन निर्माणको लागि सम्बन्धित निकाय माग गर्ने ।
– दुधकोशी जलासय विद्युत आयोजना देशकै महत्वको र आफ्नै लगानीमा उत्पादन गरिने भएकोले समयमै सम्पन्न गर्न प्रभावित पालिकाहरुमा सम्बन्धित पक्षहरुसँग समन्वय गरी कामको थालनी गराउन पहल गर्ने ।
– खोटाङमा साँस्कृतिक सामुदायिक संग्राहलय निर्माणको लागि सम्बन्धित निकायमा माग गर्ने ।
– खोटाङ जिल्काको पालिका अस्पताल १५ सैयाँको निर्माण गर्न माग गर्ने ।