Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गर्न नगरबाटै पत्राचार

    पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गर्न नगरबाटै पत्राचार


    • शुक्रवार, चैत्र २४ २०७९

    • नेपाल वाइड


    पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गर्न नगरबाटै पत्राचार
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय

    खोटाङ, २४ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मोटरेबल पुल निर्माणको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई पक्राउ गरी कानूनी कारबाही गर्न प्रशासनलाई गुहारेको छ ।

    पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको मोटरेबल पुलको काममा ढिलासुस्ती गर्ने सिरुवा कन्ट्रक्सन प्रालिका प्रोजेक्ट मेनेजर सन्तोष ढुंगानालाई पक्राउ गरी कानुनी दायरामा ल्याउनका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पुल निर्माणको काम वर्षौंसम्म अलपत्र पारेकाले पक्राउ गरी कारबाही गर्न प्रशासनलाई पत्राचार गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई बताउँछन् ।

    २०७३ सालमै बनिसक्नुपर्ने पुलको हालसम्म दुईतिरको पिलर ठड्याउने बाहेकका काम भएको छैन । हालसम्म पुलको वित्तीय प्रगती ४० प्रतिशत र भौतिक ४५ प्रतिशत मात्र सकिएको छ ।

    सिरुवा कन्ट्रक्सनले २०७३ असोज ७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७२ असोज ६ गते ठेक्का सम्झौता गरेको थियो । तेश्रोपल्ट थप भएको २०७७ असोज ३० गते नै नाघिसकेको छ । त्यस यता पुलको म्याद थप नभएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, धुलिखेलका इन्जिनियर दिपेश मुनकर्मीले बताए ।

    पिलरको जग ढलान गरेर वर्षौंसम्म पुल अलपत्र पारेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले ठेक्का तोड्नका लागि मंसिर १८ गते सडक विभाग समक्ष सिफारिस गरेपछि आत्तिएका ठेकेदारले पुस २३ गतेदेखि कामलाई सुचारु गराएजस्तो गरेको थियो तर पिलरको केही भाग ढलान थप गरेपछि फागुन २० गतेदेखि पुःन पुलको काम ठप्प पारिएको मेयर भट्टराईले बताए ।

    pp.jpg

    मध्यपहाडी लोकमार्ग अन्तरगत अलपत्र परेको खोटाङको पंखु खोला पुल । खोटाङको पंखु खोला अलपत्र पार्ने ठेकेदारलाई कारबाहीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रशासनलाई लेखेको पत्र ।

    सम्बन्धित समाचार