आइतवार, चैत्र १९ २०७९
नेपाल वाइड
खोटाङ, १९ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उद्घाटन लगत्तै चिल्ड्रेनपार्कको भासिएको संरचना पुःननिर्माणका लागि ठेकेदारलाई ताकेता गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको रत्नपार्कमा बनाइएको चिल्ड्रेनपार्कको भासिएको पर्खाल, मैदान लगायतका संरचना पुःननिर्माणका लागि ठेकेदार कम्पनी उमा–लामा–अन्सुवी जेभी, काठमाडौंलाई अन्तिमपल्ट ताकेता गरेको हो ।
दिक्तेलको रत्नपार्कमा चार करोडभन्दा बढीको लगानीमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण गरिएको थियो तर उद्घाटन गरिएको चार महिना नवित्दै २०७९ असारमा चिल्ड्रेनपार्कको संरचना भासिएको थियो ।
निर्माण कम्पनीले चिल्ड्रेनपार्कको भासिएको मैदान, चर्किएको पर्खाल, स्वीमिङ पुल लगायतका संरचना टालटुल गरेर मर्मत गरे पनि पुःननिर्माणका लागि पत्राचार गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कको कमजोरी सच्याउने अवधिमा सच्याउन २०७९ कात्तिक २३ गते पत्राचार गरेपनि भने अनुसार काम नभएको भन्दै नगरपालिकाले पुःन पत्र प्राप्त भएको मितिले हप्ता दिनभित्र पुःननिर्माण गर्न चैत १४ गते पत्राचार गरेको छ ।
पत्र अनुसार चिल्ड्रेनपार्कको संरचना पुःननिर्माण नगरे ठेकेदार कम्पनीको धरौटीबापत राखेको रकमबाट कट्टा हुनेगरी त्रुटी सच्याउने कार्य अघि बढाइने मेयर भट्टराई बताउँछन् ।
“चिल्ड्रेनपार्कको भासिएका र चर्किएका संरचनाहरु टाल्ने काम भयो । मर्मत भयो तर पुःननिर्माण भएन,” भट्टराईले भने, “हामीले पर्खाल भत्काएर जगबाटै नयाँ संरचना बनाउनुपर्छ भनेका हौँ । जगबाटै नयाँ पर्खाल हालिएन भने वर्षामा सबै संरचना भत्केर जाने खतरा छ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र नगरपालिकासँगको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँको लागतमा निर्माण गरिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको मैदान सामान्य वर्षाकै कारण भासिनुका साथै चर्किएको थियो ।
सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क २०७८ फागुन ३ गते उद्घाटन गरिएको थियो । व्यवसायीक प्रयोजनका लागि निर्माण गरिएको सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेष्टुरेण्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना बनाइएको छ । सपिङ कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि चिल्ड्रेनपार्क निर्माण गरिएको छ ।