मंगलवार, चैत्र ७ २०७९
नेपाल वाइड
खोटाङ, ७ चैत डिभिजन वन कार्यालय खोटाङले नेपाली सेना र नेपाल प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार प्रदान गरेको छ । वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह समापन कार्यक्रमको अवसरमा डिभिजन वन कार्यालयले गोरखनाथ गण मुडे ब्यारेक र जिल्ला प्रहरी कार्यालयलाई डढेलो नियन्त्रणका क्रममा उपयोग हुने औजार प्रदान गरेको हो ।
रेक, स्वाटर, एक्स–हो, रेक–हो, व्याग प्याक पम्प, सोभेल, हेल्मेट बुट र ड्रेसको अलग–अलग सेट प्रदान गरिएको डिभिजन वन प्रमुख जगदीश रेग्मीले बताए । डढेलो नियन्त्रणका क्रममा प्रयोग गर्नेगरी सेना र प्रहरीलाई प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले अग्नी नियन्त्रण औजार हस्तान्तरण गरेका हुन् ।
अग्नी नियन्त्रण सञ्जाल गठन कार्यक्रमै अवशरमा अग्नी नियन्त्रण सञ्जाल गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय संयोजक रहेको ११ सदस्यीय अग्नी नियन्त्रण सञ्जाल गठन गरिएको हो ।
डिभिजन वन कार्यालय सदस्य सचिव रहेको सञ्जालको सदस्यमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी वल, सामुदायीक वन उपभोक्ता महासंघ, नेपाल रेडक्रस सोसाईटी, नगरपालिका, निजी तथा पारिवारिक वन सञ्जाल, नेपाल विद्युत प्राधिकरण कार्यालय लगायतलाई चयन गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयको निर्देशन अनुसार खोटाङमा विभिन्न कार्यक्रम गर्दै चैत १ गतेदेखि मनाउन सुरु गरिएको वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह मंगलबार समापन गरिएको छ ।
वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह कार्यक्रमको अवसरमा दिक्तेलस्थित रत्नपार्कदेखि वाणिज्य बैंकसम्म र्याली निकालिएको थियो । र्यालीपछि जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा डिभिजन वन अधिकृत रेग्मीले डढेलो लाग्ने कारण, नियन्त्रणका उपाय, नीतिगत तथा कानुनी व्यवस्था र योजनाका बारेमा प्रस्तुती दिएका थिए ।
