सोमवार, चैत्र ६ २०७९
नेपाल वाइड
खोटाङ, ६ चैत । ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडी तोडफोडको प्रयास भएको छ । प्रदेशको नाम कोशी राखिएको बिरोधमा नेपाल आदिबासी जनजाती महासंघ समन्वय परिषदको नेतृत्वमा सोमबार मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाउँदै सवार गाडी तोडफोडको प्रयास भएको हो ।
कार्यक्रमको सिलसिलामा सदरमुकाम ओखलढुंगाबाट तलुवातर्फ जानेक्रममा आन्दोलनकर्मीले गोरुमारेभञ्ज्याङ चोकमा सुरक्षाकर्मीको घेरा नाघेर गाडीको लुकिङ ग्लास र राष्ट्रिय झण्डा निकालिदिएका छन् । गाडी तोडफोडको प्रयास गर्ने र सुरक्षाकर्मीबिच केहीबेर घम्साघम्सी चलेको थियो ।
मुख्यमन्त्री कार्की ओखलढुंगा आएपछि नेपाल आदिबासी जनजाती महासंघ, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ लगायतले बिरोध गर्दै बिहान ११ बजेदेखि गोरुमारे भञ्ज्याङमा टायर बालेर चक्का जाम गरेर बसेका थिए ।
प्रदेशको कोशी नाम खारेज गर्दै पहिचानको आधारमा किरात राख्नुपर्ने मागमा मुख्यामन्त्रीको बिरोध गरिएको नेपाल आदिबासी जनजाती महासंघ समन्वय परिषद ओखलढुंगाका अध्यक्ष नेत्रबहादुर नेम्बाङले बताए ।
सिद्धिचरण नगरपालिका–१ तलुवामा सामुदायिक भवनको उद्घाटन गर्न मुख्यमन्त्री कार्की जानेक्रममा आन्दोलनकर्मीले सवार गाडी तोडफोडको प्रयास गरेका हुन् । उनीहरुले मुख्यमन्त्री कार्की बिरुद्ध चर्का नारा लगाएका थिए । कार्की विभिन्न योजना उद्घाटन तथा शिलान्यसका क्रममा चैत्र ५ गते ओखलढुंगा पुगेका हुन् ।
