Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    मेनलाइनतर्फको ट्यांकीमाथि पनि उठ्यो प्रश्न ?

    बिजयखर्कमा बनिनसक्दै चर्किएको लिफ्टिङ आयोजनाको ट्यांकी फोडियो

    बिजयखर्कमा बनिनसक्दै चर्किएको लिफ्टिङ आयोजनाको ट्यांकी फोडियो

    ठेकेदारले बस्तीभन्दा तल जंगल र खोला आसपासका संरचना निर्माणका क्रममा झनै लापरबाही गरेको स्थानीयको दावी

    • बुधवार, चैत्र १ २०७९

    • नेपाल वाइड


    बिजयखर्कमा बनिनसक्दै चर्किएको लिफ्टिङ आयोजनाको ट्यांकी फोडियो
    बिजयखर्कमा बनिनसक्दै चर्किएको लिफ्टिङ आयोजनाको डिस्ट्रिबुसन ट्यांकी स्काभेटर लगाएर फोडिँदै ।

    खोटाङ, १ चैत । बनिनसक्दै चर्किएपछि खोटाङको साप्सु खोला बिजयखर्क बसेरी लिफ्टिङ आयोजनाको डिस्ट्रिबुसन ट्यांकी फोडिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा स्वास्थ्यचौकीभन्दा केही माथि फिरफिरे ट्यांकीडाँडामा निर्माण गरिएको २० हजार लिटर क्षमताको फेरोसिमेन्ट ट्यांकी निर्माणकै चरणमा चिरा–चिरा परेपछि पुःन अर्को नयाँ ट्यांकी बनाउनेगरी बुधबार फोडिएको हो ।

    फिनिसिङ नहुँदै चर्किएपछि चौतर्फी बिरोध र आलोचना सुरु भएपछि वडा कार्यालय र उपभोक्ता समितिको रोहबरमा स्वयं ठेकेदार कम्पनी सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि, काठ्माडौंले ह्याम्मर र स्काभेटर लगाएर ट्यांकी फोडेको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय, खोटाङको निर्देशनमा उपभोक्ता समिति र निर्माण कम्पनी आफैले ट्यांकी फुटाएका हुन् ।

    लिफ्टिङ आयोजनाको ट्यांकी निर्माणका क्रममा भएको कमजोरी सच्याउनका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय र निर्माण कम्पनीलाई मौखिक निर्देशन दिइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई बताउँछन् ।

    लिफ्टिङ आयोजनाका लागि वितरणलाईनतर्फ पाँच वटा फेरोसिमेन्ट ट्यांकी बनाउनुपर्ने छ । पहिलो ट्यांकी कमजोर बनेपछि सबै वितरणलाईन ट्यांकी आरसिसि बनाउन निर्देशन दिइएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताए ।

    बिजयखर्कका ७२५ घरधुरीलाई पानीको सुविधा दिनेगरी २०७९ साउन ५ गतेदेखि साप्सु खोला बिजयखर्क बसेरी लिफ्टिङ आयोजनाको काम सुरु गरिएको थियो ।

    संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, दिक्तेल, खोटाङमार्फत भ्याट तथा पिएस सहित २९ करोड १३ लाख ९८ हजार ९९० रुपैयाँमा सक्नेगरी लिफ्टिङ आयोजनाको ठेक्का लागेको हो । सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सनले २०८१ साउन ४ गतेसम्ममा सक्नेगरी २०७९ असार २२ गते आयोजनाको सम्झौता गरेको थियो ।

    tanki.jpg

    लिफ्टिङ आयोजनाको फोडिएको डिस्ट्रिबुसन ट्यांकी ।

    बस्ती नजिक र सबैको नजर पर्ने ठाउँमै कमजोर संरचना बनाएको ठेकेदारले बस्तीभन्दा तल जंगल र खोला आसपासका संरचना निर्माणका क्रममा झनै लापरबाही गरेको स्थानीयको दावी छ । ट्यांकी निर्माणका क्रममा खोलाको माटो मिसिएको बालुवा प्रयोग गरिएको, नियमित क्युरिङ (पानीले भिजाउने काम) नगरिएको स्थानीय नरेन्द्र ढकालले बताए ।

    मापदण्ड अनुसार पाईप पुर्ने खाल्डोको गहिराइ नबनाएको, पाईप लाईनको काम गर्ने कामदारलाई जिल्ला दर रेटभन्दा कम मिटरको ७० रुपैयाँले काम लगाएर श्रम शोषण गरेको बताइएको छ । “पहिलाको डिपिआर अनुसार ट्यांकी निर्माण र पाईपलाइनको काम भएन ।

    सरकारी जग्गा छँदाछँदै व्यक्तीको जग्गामा कार्यालय भवन बनाइयो । सडक फराकिलो बनाउँदा काटिने ठाउँमा ट्यांकी निर्माण गरिएको छ,” ढकालले भने, “एकलौटी गरियो । आयोजनाको काममा स्थानीयलाई काम गर्न दिइएन । सबै कामदार बाहिरबाट ल्याएर लगाइएको छ ।”

    आयोजनाका लागि मेनलाईन र वितरणलाईन गरी ११ वटा आरभिटी ट्यांकी, एक वटा ट्रिटमेन्ट प्लान्ट, १०८.१५ किलोमिटर वितरण पाइपलाईन, ८.९९ किलोमिटर ट्रान्स्मिसन पाइपलाईन, एउटा कार्यालय भवन, पाँच वटा गार्ड हाउस, एउटा सम्पवेल लगायतका संरचना बनाइनेछन् । हालसम्म आयोजनाको करिब २० प्रतिशत काम सकिएको छ ।

    मेनलाइनतर्फको ट्यांकीमाथि पनि उठ्यो प्रश्न

    साप्सु खोला बिजयखर्क बसेरी लिफ्टिङ आयोजनाको मेनलाइनतर्फको जुरेथुम्का र फुलमतीमा बनेको आरसिसि ट्यांकीको गुणस्तरको विषयमा पनि स्थानीयले प्रश्न उठाएका छन् ।

    स्थानीयले फलामको काँटीले कोतर्दा ह्वार–ह्वार्ती ट्यांकीको प्लाष्टर कोतरिएर झरेको भिडियो बुधबार सामाजिक सञ्जालमा राखेका छन् । लिफ्टिङ आयोजनाको मेनलाईनतर्फ २० हजार लिटर क्षमताको ६ वटा ट्यांकी बनिरहेका छन् ।

    उपभोक्ता समितिका अध्यक्ष सरोज राईले भने प्लाष्टर नसुक्दै कोट्याएर ‘इस्यू’ बनाउन खोजिएको बताए । “प्लाष्टरलाई हप्तादिन क्युरिङ गरेर राख्नुपर्ने हुन्छ । हिजो गरेको प्लाष्टर आज कोट्याएपछि उक्किनु स्वभाविक हो,” राईले भने, “क्युरिङ सकिएपछि कोट्याउँदा कोट्टियो भने तत्काल डिस्म्यान्टल हुन्छ ।”

    सम्बन्धित समाचार