Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    उपभोक्ता समितिमा सबैको नजर

    बनिनसक्दै चर्कियो करोडौ लगानीको बिजयखर्क बसेरी लिफ्टिङ आयोजनाको ट्यांकी

    बनिनसक्दै चर्कियो करोडौ लगानीको बिजयखर्क बसेरी लिफ्टिङ आयोजनाको ट्यांकी

    चर्किएको ट्यांकी भत्काएर पुःननिर्माण नगरे नगरपालिकाकोतर्फबाट कारबाहीका लागि अख्तियारमा सिफारिस गर्ने मेयर भट्टराई बताउँछन् ।

    • सोमवार, फाल्गुण २९ २०७९

    • नेपाल वाइड


    बनिनसक्दै चर्कियो करोडौ लगानीको बिजयखर्क बसेरी लिफ्टिङ आयोजनाको ट्यांकी
    साप्सु खोला बिजयखर्क लिफ्टिङ आयोजनाको बनिनसक्दै चर्किएको डिस्ट्रिबुसन ट्यांकी निरिक्षण गर्नुहुदै मेयर तीर्थराज भट्टराईलगायत प्राविधिकको टोली । तस्बीरः नेपालवाईड डटकम

    दमन राई/सुर्य तामाङ

    खोटाङ, २९ फागुन । खोटाङको साप्सु खोला बिजयखर्क बसेरी लिफ्टिङ आयोजनाको डिस्ट्रिबुसन ट्यांकी बनिनसक्दै चर्किएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा साप्सु खोलाको पानी निकाल्नका लागि सुरु गरिएको साप्सु खोला बिजयखर्क बसेरी लिफ्टिङ आयोजनाको डिस्ट्रिबुसन ट्यांकी निर्माणकै चरणमा चिरा–चिरा परेको हो ।

    सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि, काठ्माडौंले निर्माण गरेको पाँच वटा डिस्ट्रिबुसन ट्यांकीमध्ये फिरफिरे ट्यांकीडाँडामा निर्माण गरिएको २० हजार लिटर क्षमताको फेरोसिमेन्ट ट्यांकी फिनिसिङ नहुँदै चर्किएको हो । चिरा–चिरा परेर धाँजा निस्किएको ट्यांकीलाई ठेकेदारले सिमेन्ट र बालुवाले टालटुल गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई बताउँछन् ।

    बिजयखर्कका ७२५ घरधुरीलाई पानीको सुविधा दिनेगरी २०७९ साउन ५ गतेदेखि साप्सु खोला बिजयखर्क बसेरी लिफ्टिङ आयोजनाको काम सुरु गरिएको थियो । ट्यांकी निर्माणका क्रममा खोलाको माटो मिसिएको बालुवा प्रयोग गरिएको, नियमित क्युरिङ (पानीले भिजाउने काम) नगरिएको स्थानीय कमलादेबी ढकाल बताउँछिन् ।

    संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, दिक्तेल, खोटाङमार्फत भ्याट तथा पिएस सहित २९ करोड १३ लाख ९८ हजार ९९० रुपैयाँमा सक्नेगरी लिफ्टिङ आयोजनाको ठेक्का लागेको हो । सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सनले २०८१ साउन ४ गतेसम्ममा सक्नेगरी २०७९ असार २२ गते आयोजनाको सम्झौता गरेको थियो ।

    आयोजनाका लागि मेनलाईन र वितरणलाईन गरी ११ वटा आरभिटी ट्यांकी, एक वटा ट्रिटमेन्ट प्लान्ट, १०८.१५ किलोमिटर वितरण पाइपलाईन, ८.९९ किलोमिटर ट्रान्स्मिसन पाइपलाईन, एउटा कार्यालय भवन, पाँच वटा गार्ड हाउस, एउटा सम्पवेल लगायतका संरचना बनाइनेछन् । हालसम्म आयोजनाको करिब २० प्रतिशत काम सकिएको छ ।

    चौतर्फी बिरोधपछि लिफ्टिङ आयोजनाको वितरणलाईनको चर्किएको फेरोसिमेन्ट ट्यांकी डिसम्यान्टल (भत्काउने) तयारी गरिएको सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सनका इन्जिनियर सञ्जिव शाहले बताए ।

    “ट्यांकी क्युरिङ गर्न हामीलाई पानी दिइएन । पानीको समस्याले क्युरिङ गर्न सकिएन । क्युरिङ गर्न सकेको भए ट्यांकी चर्किन्नथ्यो,” शाहले भने, “अव दश हजार लिटर माथिको फेरोसिमेन्ट ट्यांकीलाई आरसिसि बनाउने तयारी गरेका छौँ ।” चर्किएको ट्यांकी भत्काएर पुःननिर्माण नगरे नगरपालिकाकोतर्फबाट कारबाहीका लागि अख्तियारमा सिफारिस गर्ने मेयर भट्टराई बताउँछन् ।

    बस्ती नजिक र सबैको नजर पर्ने ठाउँमै कमजोर संरचना बनाएको ठेकेदार कम्पनीले बस्तीभन्दा तल जंगल र खोला आसपासका संरचना निर्माणका क्रममा झनै लापरबाही गरेको स्थानीय नरेन्द्र ढकाल बताउँछन् ।

    मापदण्ड अनुसार पाईप पुर्ने खाल्डोको गहिराइ नबनाएको, पाईप लाईनको काम गर्ने कामदारलाई जिल्ला दर रेटभन्दा कम मिटरको ७० रुपैयाँले काम लगाएर श्रम शोषण गरेको स्थानीय बताउँछन् ।

    “पहिलाको स्टीमेट अनुसार ट्यांकी निर्माण र पाईपलाइनको काम भएन । सरकारी जग्गा छँदाछँदै व्यक्तीको जग्गामा कार्यालय भवन बनाइयो । सडक फराकिलो बनाउँदा काटिने ठाउँमा ट्यांकी निर्माण गरिएको छ,” ढकालले भने, “हरेक काममा एकलौटी गरियो । आयोजनाको काममा स्थानीयलाई काम गर्न दिइएन । सबै कामदार बाहिरबाट ल्याएर लगाइएको छ ।”

    उपभोक्ता समितिमा सबैको नजर

    अर्कातर्फ बिजयखर्कमा आयोजनाको उपभोक्ता समिति गठनदेखि आयोजना सञ्चालनमा एकलौटी भएको गुनासो गर्ने पनि उत्तिकै छन् । कांग्रेसका पुर्व जिल्ला कार्य समिति सदस्य प्रेम खनाल र एमालेका वडा कमिटि सदस्य युवबहादुर कार्कीले २०७९ पुस १९ गते विज्ञाप्ती जारी गर्दै मनोमानी ढंगले सामुदायीक वनको सहमती नलिइ पहिलाको डिपिआर परिवर्तन गरेर काम सुरु गरेको भन्दै सरोज राईको अध्यक्षतामा बनेको उपभोक्ता समिति खारेज गरी सर्वपक्षीय उपभेक्ता समिति गठनको माग गरेका थिए ।

    यस्तै, एमाले वडा कमिटि अध्यक्ष कार्की, नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष पुष्पलाल खनाल र सरोकारवालाको पक्षबाट प्रेम खनालले २०७९ माघ २४ गते विज्ञाप्तीमार्फत सोही माग दोहोर्‍याएका थिए ।

    आयोजनाको काम गुणस्तरहीन भएको तथा उपभोक्ता पुःर्नगठनको माग गर्दै ३१२ जनाको हस्ताक्षर सहित जिल्ला प्रशासन कार्यालयमा २०७९ फागुन ४ गते निवेदन परेको थियो । लिफ्टिङ खानेपानी आयोजनाका लागि पुर्ववडाध्यक्ष बिरेन्द्र ढकालले उपभोक्ता समिति गठन गरेका थिए । तर नवनिर्वाचित वडाध्यक्ष रामबहादुर कट्वालले अर्को उपभोक्ता समिति गठन गरेका थिए ।

    सम्बन्धित समाचार