शनिवार, फाल्गुण १३ २०७९
नेपाल वाइड
खोटाङ, १३ फागुन । खोटाङ उद्योग बाणिज्य संघको २५ औं साधारणसभा तथा ११ औं जिल्ला अधिबेसन उद्घाटन भएको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले शनिबार साधारणसभा तथा अधिबेसन उद्घाटन गरेका हुन् ।
बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी फागुन २३ गते निर्वाचन मिति तोकिएको छ । सर्वसहमतीमा नेतृत्व चयन हुन नसके मतदानको माध्यमबाट नेतृत्व चयन हुने बाणिज्य संघले जनाएको छ ।
आगामी नेतृत्वका लागि पाँच जना आकांक्षी देखिएका छन् । श्रोतका अनुुसार वर्तमान वरिष्ठ उपाध्यक्ष समुन्द्रप्रसाद जोशी, प्रथम उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष राजेन्द्र लयालु, राजन सैंजु र रोहित सैंजु अध्यक्षका आकांक्षी छन् ।
साधारणसभा तथा अधिबेसन उद्घाटनका क्रममा खोटाङ उधोग वाणिज्य संघको सचिवालय भवन उद्घाटन गरिएको छ । जिल्ला अदालत भन्दामुनि ५६ लाख २३ हजारमा निर्माण गरिएको एक तले सचिवालय भवन प्रतिनिधिसभा सदस्य राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका हुन् ।
बाणिज्य संघले स्थापनाको ४० वर्षपछि दुई रोपनी जग्गा जुटाएर आफ्नै सचिवालय भवन निर्माण गरेको हो । केही समय अघिदेखि सञ्चालनमा ल्याइएको सचिवालय भवनलाई साधारणसभा तथा अधिबेसन उद्घाटनको अवसरमा उद्घाटन गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको २८ लाख, संघका साधारण सदस्यबाट संकलन गरिएको १६ लाख ८१ हजार ८३३ र खोटाङ उधोग वाणिज्य संघको ११ लाख ४१ हजार ४६७ रुपैयाँको खर्चमा सचिवालय भवन निर्माण गरिएको संघका कोषाध्यक्ष युधिर शाक्यले बताए ।
संघको सचिवालय भवन २०७७ चैत ३ गते तत्कालिन मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले शिलान्यास गरेका थिए । साँढे ३ करोडको लागतमा साँढे तीन तलाको सचिवालय भवन निर्माण हुने भए पनि तल्लो तलालाई फिनिसिङ गरेर सञ्चालनमा ल्याइएको हो ।

यस्तै, कार्यक्रममा बाणिज्य संघले प्रकाशन गरेको स्मारिका लोकार्पण गरिएको छ । बाणिज्य संघले स्मारिकाका लागि लेख उपलब्ध गराए वापत पत्रकार दमन राई, स्थानीय उत्पादनलाई बजारीकरण गर्दै आएको चिमाल फलफुल प्रशोधन उधोगका सञ्चालक शुभचन्द्र राई र विभिन्न जातजातिको रितीरिवाजमा प्रयोग हुने घरेलु सामाग्री विक्रीवितरण गर्दै आएका व्यवसायी किसनकुमार राईलाई जनही ५/५ हजार नगदका साथमा सम्मान–पत्र प्रदान गरेको छ । यस्तै, सचिवालय भवन निर्माणमा आर्थिक सहयोग गर्ने ४५६ जनामध्ये उपलब्ध दातालाई सम्मान–पत्र प्रदान गरिएको संघका महासचिव मनोज वजिमयले जानकारी दिए ।
