शनिवार, फाल्गुण १३ २०७९
नेपाल वाइड
खोटाङ, १३ फागुन । खोटाङका सबै ठाउँमा विद्युत विस्तार गर्ने लक्ष्यका साथ पूर्ण विद्युतीकरण कार्यक्रम अघि बढेको छ । नेपाल सरकारको पूर्ण विद्युतीकरण कार्यक्रम अन्तरगत जिल्लाका विद्युत विस्तार गर्न बाँकी ठाउँमा खोटाङ–उदयपुर ११/०.४ केभि ग्रामिण विद्युतीकरण आयोजनाको काम अघि बढेको हो ।
निर्माण कम्पनी सिग्मा कोन प्रालि, काठ्माडौंले १८ महिनाभित्र डिटेल सर्भे एवं विद्युतीकरणको काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ईन्जिनियर बिजयराज रेग्मीले बताए ।
२०७९ कात्तिक १७ गते पूर्ण विद्युतीकरण कार्यक्रमको ठेक्का सम्झौता गरेको सिग्मा कोनलेले जिल्लाभरका विद्युत पुग्न बाँकी ठाउँमा जिपिएस सर्भेको काम सम्पन्न गरिसकेको छ ।
पूर्ण विद्युतीकरणका लागि प्राधिकरणको २०७८ पुस ५ गतेको पत्र अनुसार दिक्तेल वितरण केन्द्रले विद्युतीकरण हुन बाँकी स्थानका लागि आवश्यक पर्ने एचटि/एलटी लाईन लम्बाई (किलोमिटर) र ट्रान्सफर्मरको विवरण २०७८ पुस १२ गते पठाएको थियो ।
जिल्लाका बाँकी स्थानमा पुर्ण विद्युतीकरण गर्नका लागि निर्माण कम्पनीले ११ केभिको १८२.८९ किलोमिटर हाइटेन्सन, ५३९ किलोमिटर एलटि (वितरण) लाईन, १०९ वटा डिस्ट्रीबुसन ट्रान्सफर्मर खरिद गरेर जडान गर्नुपर्ने रेग्मीले बताए । जिल्लाका १० स्थानीय तहका करिब ४५ हजार घरधुरीमध्ये करिब १४ हजार घरधुरीमा विद्युत पुग्न बाँकी छ ।