बिहिवार, फाल्गुण ११ २०७९
नेपाल वाइड
खोटाङ, ११ फागुन । छाप्रोमा राखिएका खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानी खोक्माका ८३ वर्षीय अशक्त वृद्ध जिरे राईलाई आर्थिक सहयोग जुटेको छ ।
आँखा देख्न छाडेपछि र दिसापिसाव ओछ्यानमै हुन थालेपछि छाप्रोमा राखिएका वृद्धका लागि साकेला गाउँपालिका–४ मात्तिम ठेगाना भइ हाल मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँ निवासी कुमार फुयाँलले एक हजार एक सय सहयोग पठाइदिएका हुन् ।
फुयाँलले नेपालवाइड डटकमका सम्पादक सुर्य तामाङको खातामा सहयोग रकम पठाइदिएका छन् । विगत आठ वर्षदेखि आँखाको दृष्टि गुमाएका र तीन वर्षदेखि ओछ्यानमै दिसापिसाव गर्ने अवस्थामा पुगेका वृद्धका विषयमा फागुन ८ गते नेपालवाइड डटकममा समाचार प्रकाशित भएको थियो ।
विवाह नगरी वृद्धावस्थामा पुगेका वृद्ध हिँडडुल गर्न सक्दैनन् । वृद्धावस्थामा उनी भतिजो निरकुमार राईको रेखदेखमा बस्दै आएका छन् । तर, दिसापिसाव नै ओछ्यानमा हुन थालेपछि वृद्धको अवस्था दर्दनाक छ ।
हाल उनलाई सुताउन र उठाउन समेत साहरा चाहिन्छ । दिसापिसाव ओछ्यानमै भएपछि सरसफाई अभावमा छाप्रो दुर्गन्धित बनेको छ । दिसापिसाव नै ओछ्यानमा हुन थालेपछि आफन्तले उनलाई अलग्गै छाप्रो बनाएर राखेका छन् ।
अढाई वर्षदेखि खोरजस्तो साँघुरो छाप्रोमा राखिएका वृद्धका लागि हाल वडा कार्यालयले व्यवस्थित टहरा निर्माण सुरु गरेको छ । वृद्धलाई छाप्रोबाट निकालेर व्यवस्थित तरिकाले आश्रय दिने व्यवस्थाका लागि टहरा निर्माण सुरु गरिएको वडाध्यक्ष तुरालाम राईले बताए ।
हाल वृद्धका लागि ढलान गरेर जस्ताको छानो हालेर काठको एक कोठे टहरा निर्माण भइरहेको छ । टहरा बनाएर गाउँपालिकामा बिलभपाई पेश गर्नेगरी काम सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।