सोमवार, फाल्गुण ८ २०७९
नेपाल वाइड
खोटाङ, ८ फागुन । खोटाङमा जननायक रामप्रसाद राईको शालिक अनावरण गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको ऐतिहासिक टुँडिखेलमा रामप्रसाद राई स्मृतिपार्क उद्घाटनसँगै उनको शालिक अनावरण गरिएको हो ।
प्रतिनिधिसभा सदस्य रामकुमार राईले सोमबार रामप्रसाद राई स्मृतिपार्क उद्घाटन एवं शालिक अनावरण गरेका हुन् । २००७ सालका क्रान्ती नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिक टुँडिखेललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ गाउँपालिका र प्रदेश सरकारको ६५ लाख खर्चमा उनको शालिक सहितको स्मृतिपार्क निर्माण गरिएको हो । फुटबल खेल्न प्रयोग हुँदै आएको टुँडिखेलको किनारामा शालिक, बगैंचा, घेराबारा, पर्खाल, प्रतिक्षालय लगायतका संरचना बनाइएको छ ।
टुँडीखेल संरक्षण तथा स्मृतिपार्कका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/६७ मा १० लाख, २०७६/०७७ मा १५ लाख र २०७७/०७८ मा १० लाख विनियोजन गरेको थियो ।
यस्तै, प्रदेश सरकारबाट आर्थिक वर्ष २०७५/०७६ मा प्राप्त २० लाख र आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको १० लाख बजेट खर्च गरिएको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताए । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा डिपिआर तयार पारेर स्मृतिपार्क निर्माणको काम अघि बढाएको थियो ।
ब्रिटिस सेनाको जागीर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालिन राणा सरकारले उनको कमाण्डमा खोटाङवजारमा सेना खटाएको थियो । सो टुँडीखेलमा राईले २००५ सालतिर समी, लाकुरी, सिमल र भगवती माबिको प्रांगणमा करबिर फूल रोपेको इतिहास छ । सो टुँडिखेल भने विक्रम संवत् १९६३ देखि १०९० सालकोबिचमा बनेको भगवती दिनानाथ माविका प्रअ एबं खोटाङ क्याम्पस प्रमुख कुमार पराजुली बताउँछन् । राईले सिराहाबाट समीको बिरुवा ल्याएर टुँडिखेलको किनारामा रोपेका थिए ।
टुँडीखेलमा सावा खोला र खि खोलाको बालुवा ल्याएर ओछ्याइएको वताइन्छ । इतिहास बोकेको भए पनि बेखवर बनेको टुँडीखेल तथा समीको संरक्षणका लागि किरात राई बिद्यार्थी संघले २०७४ सालदेखि शालिक सहितको स्मृतिपार्क निर्माणका लागि पहल थालेको थियो ।
ऐतिहासिक टुँडीखेल तथा समीको रुख संरक्षण र व्यवस्थापनका किरात राई विद्यार्थी संघको केन्द्रीय सचिवालय सदस्य दिपेन राई संयोजकत्वको संरक्षण समिति बनेको थियो ।
रामप्रसाद राई राणाविरोधी सशस्त्र संघर्षमा पूर्वमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर थिए । २००७ सालमा उनकै कमान्डमा भोजपुर अड्डा कब्जा गरिएको इतिहास छ । सरकारले १५ पुस २०७५ मा जननायक राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरिसकेको छ ।
जवानबाट बढुवा हुँदै लेफ्टीनेन्ट बनेका राईले खोटाङवजारमै रहेको समयमा राणा सरकारबाट निष्कासित भएपछि घर (भोजपुर) फर्किएर राणा विरोधी गतिविधि सुरु गरेका थिए । खोटाङवजार छाड्नुअघि रामप्रसादले ‘वर्ष दिनभित्र देशमा उथलपुथल हुन्छ’ भन्दै भोजपुरतर्फ हिँडेको स्थानीय बृद्ध एबं पुर्वप्रअ मणिकलाल प्रधान बताउँछन् ।
