आइतवार, माघ २९ २०७९
नेपाल वाइड
खोटाङ, २९ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा अढाइ करोड खर्च गरेर निर्माण गरिएको कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्टबाट उपयोग विहिन बनेको छ ।
अर्गानिक नगर बनाउने अभियान अन्तरगत नगरपालिकाले नेपाल सरकार अर्थमन्त्रालयको विशेष अनुदान एबं प्रदेश सरकारको गरी करिब २ करोड ७० लाखको खर्चमा निर्माण गरेको दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमुना कृषि श्रोत केन्द्रबाट उत्पादित मलप्रति किसानलाई आकर्षित गर्न नसक्दा लगानी प्रतिफल विहिन बन्न पुगेको छ ।
उत्पादित प्रांगारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र बजार मुल्य पनि बढी भएका कारण कम्पोष्ट प्लान्ट तथा नमूना कृषि श्रोतकेन्द्र उपयोग विहिन बन्न पुगेको हो ।
प्रदेश नम्बर १ का तत्कालिन मूख्यमन्त्री शेरधन राईले तामझामका साथ २०७७ चैत २१ गते उद्घाटन गरेको दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमुना कृषि श्रोत केन्द्रबाट हालसम्म प्रतिवटा १५ केजीको ४३५ बोरा मल मात्र उत्पादन गरिएको छ । जवकी प्लान्टबाट प्रतिघण्टा एक हजार केजी कम्पोष्ट मल उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।
उत्पादित मलको मूल्य प्रतिबोरा पाँच सय निर्धारण गरिएको छ । हालसम्म उत्पादन भएका मलमध्ये करिब ४० बोरा मात्र ‘क्याँस’ बिक्री भएको छ । १५० बोरा मल नगरपालिकाको दिक्तेलस्थित सपिङ कम्प्लेक्समै थन्काइएको छ ।
अन्य मल अनुदानमा किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । कम्पोष्ट प्लान्टबाट उत्पादित मल गोठको भन्दा कैयौं गुणा मलिलो भएपनि महत्व बुझाउन नसक्दा किसानले बेवास्ता गरेको दिक्तेलका किसान भूमीराज खत्री बताउँछन् ।
“कम्पोष्ट प्लान्टको प्रांगारिक मल उपयोगी छ । मैले प्रयोग गरेर हेरेँ । गोठको गोबर भन्दा कैयौं गुणा राम्रो छ,” खत्रीले भने, “तर यसको महत्व बारे किसानलाई बुझाउन सकिएको छैन । नगरका सवै किसानले प्रयोग गर्ने हो भने मलको माग धान्न गार्हो हुन्थ्यो ।”
कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट उद्घाटन अघिपछि सामान्य मात्रामा मल उत्पादन गरिए । तर नगरपालिकाले उचित व्यवस्थापन गर्न नसक्दा कम्पोष्ट तथा वायोग्याँस प्लान्टबाट नियमित मल उत्पादन गर्न नसकिएको हो ।
कम्पोष्ट प्लान्टको मललाई किसानले आफ्नो गोठको मल सरह ठानेका छन् । खपत नै नभएपछि नियमित मल उत्पादन गर्न नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखाका कृषि प्रशार अधिकृत तेजप्रकाश जैसीले बताए ।
“उद्घाटन लगत्तै एकलट मल उत्पादन भयो । परिक्षण गर्दा मलको क्वालिटी राम्रो छ । तर बजार मूल्य बढी भयो भनेर किसानले रुचाएन । नियमित खपत नभएपछि धेरै मल उत्पादन गर्न सकिएन,” जैशीले भने, “अव निजी संस्था वा साँझेदारी सँस्थामार्फत सञ्चालन गर्नेगरी कार्यविधि तयार पारेका छौँ । मूल्यका विषयमा पनि पुःनर्विचार हुनसक्छ ।”
नेपाल सरकारको विशेष अनुदान स्वरुप प्राप्त भएको ३ करोड ३२ लाख मध्ये कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट निर्माणमा १ करोड ८५ लाख खर्च भएको छ ।
अन्य रकम दुई वटा ट्याक्टर खरिद, दिक्तेलबजारमा डस्विन राख्न तथा डम्पिङसाईट पुग्ने सडक मर्मतमा खर्च गरिएको थियो । यस्तै, कम्पोष्ट र वायोग्याँस प्लान्टको काममा प्रदेश सरकारको सशर्त अनुदान ५० लाख र नगरपालिकाको आन्तरिक श्रोतबाट ३५ लाख खर्च भएको छ ।