Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    महुरे–राजापानी सडकः निर्माणस्थलबाट सामान उठाएर हिँड्यो ठेकेदार

    महुरे–राजापानी सडकः निर्माणस्थलबाट सामान उठाएर हिँड्यो ठेकेदार


    • सोमवार, माघ २३ २०७९

    • नेपाल वाइड


    महुरे–राजापानी सडकः निर्माणस्थलबाट सामान उठाएर हिँड्यो ठेकेदार
    ठेकेदारले अलपत्र छाडेको महुरे–सिमपानी (राजापानी) सडक ।

    खोटाङ, २३ माघ । खोटाङको महुरे–सिमपानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनी सामान उठाएर हिँडेको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी निर्माणस्थलमा रहेका गाडी, क्रसर मेसिन उठाएर हिँडेको हो ।

    पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनीले माघ ४ गते क्रसरको सामान उठाएर लगेको हो । लामो समयसम्म अलपत्र बनेको निर्माणस्थलमा केही समयअघि आएको निर्माण व्यवसायी काम गर्दागर्दै छाडेर हिँडेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राईले बताए ।

    निर्माण कम्पनी भुक्तानी लिएपछि निर्माणस्थलबाट सामान उठाएर काम छाडेर हिँडेको हो । निर्माण व्यवसायीले भाडामा ल्याएका सवारी साधन र क्रसर मेसिन भने सम्वन्धित मालिक आएर लगेका हुन् ।

    भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा २०७३ असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

    काममा ढिलासुस्ती गर्दैआएको निर्माण कम्पनीले पटक–पटक आफ्नो साईड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई छल्ने गरेको छ । हालसम्म १४ जना साईड इन्चार्ज परिवर्तन गरिसकेको स्थानीय बताउँछन् ।

    यसबीचमा खोटाङमा छ जना प्रमुख जिल्ला अधिकारी फेरिइसकेका छन् । कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका विषयमा माघ २१ गते जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले अनुगमन गरेको थियो ।

    भारत कन्ट्रक्सन/सिद्धी शाहीका प्रतिनिधि सन्तोष ढकालले केही समयअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका समक्ष मंसिर १६ गतेदेखि पुस १३ गतेसम्मको कार्यविवरण पेश गरेका थिए ।

    जेभीले मंसिर १६ गतेदेखि हप्ता दिनसम्म सव–बेस मर्मत गर्ने, मंसिर २३ गतेदेखि १० दिनसम्म बेस क्रसर उत्पादन गरी बेस बोक्ने, पुस ३ गतेदेखि १० दिनसम्म बेस फिँजाउने र पुस १३ गतेदेखि ४ किलोमिटरमा डिबीएसटी (पिच)को काम सुरु गर्ने कार्यविवरण पेश गरेका थिए ।

    तर आफैले बुझाएको कार्यविवरण कुल्चिएर निर्माण व्यवसायी सामान उठाएर हिँडेका हुन् । मेयर तीर्थराज भट्टराईले गत कात्तिक ३ गते पत्रकार सम्मेलनमार्फत अलपत्र १७ योजना र सम्वद्ध निर्माण कम्पनीको विवरण सार्वजनिक गर्दै भएका प्रगती, मासिक कार्ययोजना र मासिक प्रगती विवरण बुझाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए । सिद्धी शाही जेभीका दिपेन्द्र शाही कांग्रेस डोल्पा सभापति छन् ।

    सम्बन्धित समाचार