शुक्रवार, माघ २० २०७९
नेपाल वाइड
खोटाङ, २० माघ । उच्च अदालत पाटनले खोटाङ र उदयपुर जोड्ने गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तरगतका दुई प्याकेज कालोपत्रेको ठेक्का तोड्ने निर्णय उल्टाइदिएको छ ।
उच्च अदालतले सगरमाथा राजमार्ग अन्तरगत खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्ड डिबीएसटी कालोपत्रे योजनाको ठेक्का तोड्ने निर्णय हाललाई कार्यान्वयन नगर्नका लागि अन्तरिम आदेश दिएको हो ।
ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगर्दा सडक कालोत्रेको काम वर्षौंसम्म अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले गत पुस ८ गते फोक्सिङटार–सिमपानी (राजापानी) र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्डको ठेक्का तोड्ने निर्णय गरेको थियो ।
ठेक्का तोड्ने निर्णय विरुद्ध ठेकेदार कम्पनी अदालत पुगेपछि अदालतले अन्तिम फैसला नआएसम्मका लागि सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न, निर्माण कम्पनीलाई कालोपत्रेको नियमित काम गर्न दिन र समय–समयमा कामको प्रगती वारे अनुगमन गर्न अन्तरिम आदेश दिएको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए ।
ठेक्का तोड्ने निर्णय भएपछि ठेकेदार रिट हाल्न उच्च अदालत पुगेको थियो । ठेक्का तोड्ने निर्णयलाई अदालतले अन्तरिम आदेशमार्फत उल्टाइदिएपछि निर्माण कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभी, काठ्माडौंले फोक्सिङटार–सिमपानी (राजापानी) सडक खण्डमा काम सुचारु गराएको छ । अदालतको अन्तरिम आदेशमा ठेक्का कायम राख्न सफल निर्माण व्यवसायीले बाँकी काम सरासर गर्नेमा बिश्वस्त हुने ठाउँ भने नभएको खोटाङका प्रदेशसभा सदस्य पाँचकर्ण राईले बताए ।
ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौता बमोजिम कार्य सम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै कार्यालयले दुई खण्डको ठेक्का तोडेको सुचना जारी गरेको थियो ।
दिक्तेल–गाईघाट सडक खोटाङ र पुर्वी शहर जोड्ने छोटो दुरीको मार्ग हो । दिक्तेल–गाईघाट सडक तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ फागुन १४ गते शिलान्यास गरेका थिए ।