Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    साकेलाः ४८१ अशक्त लाभग्राहीलाई घुम्ती शिबिरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण

    साकेलाः ४८१ अशक्त लाभग्राहीलाई घुम्ती शिबिरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण


    • बिहिवार, माघ १२ २०७९

    • नेपाल वाइड


    साकेलाः ४८१ अशक्त लाभग्राहीलाई घुम्ती शिबिरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण
    शारीरिक रुपमा अशक्त लाभग्राहीलाई घुम्ती शिबिरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दै गाउँपालिकाका कर्मचारी ।

    खोटाङ, ११ माघ । खोटाङको साकेला गाउँपालिकाले शारीरिक रुपमा अशक्त लाभग्राहीलाई घुम्ती शिबिरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । वृद्धावस्था, अशक्त तथा आफै हिँडेर बैंकसम्म पुग्न नसक्ने ४८१ लाभग्राहीलाई गाउँपालिकाले नेपाल एसबिआई बैंकसँगको सहकार्यमा चालु आर्थिक वर्षको दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

    गाउँपालिका र एसबिआई बैंकबीच भएको सम्झौता अनुसार शारीरिक अशक्तताका कारण बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न नसक्ने लाभग्राहीलाई वडा–वडामा घुम्ती शिविर सञ्चालन गरेर भत्ता वितरण गरिएको हो ।

    पाँच वडाका अशक्त लाभग्राहीलाई ५५ लाख २९ हजार ५०० भत्ता वितरण गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले बताए । बैंकसम्म पुग्न सक्ने अन्य लाभग्राहीले भने बैंकबाटै सामाजिक सुरक्षाभत्ता बुझिरहेका छन् ।

    गाउँपालिकाले शारीरिक रुपमा अशक्तलाई वर्षको तीन पटक घुम्ती शिबिर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गर्दैआएको छ । वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउँदा अशक्त लाभग्राही उत्साहित छन् ।

    सामाजिक सुरक्षाभत्ता वितरणका लागि माघ ३ गते साकेला गाउँपालिका–३ खिदिमाबाट सुरु गरिएको घुम्ती शिबिर माघ १० गते साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको चण्डेश्वरी आधारभुत विद्यालय पुगेर टुंग्याइएको हो ।

    खिदिमाका ७६ लाभग्राहीलाई सात लाख पाँच सय, साकेला गाउँपालिका–४ मात्तिमका ६१ लाभग्राहीलाई छ लाख ५४ हजार, साकेला गाउँपालिका–५ को मात्तिमबिर्ताका ९६ लाभग्राहीलाई १० लाख ९४ हजार, साकेला गाउँपालिका–२ रतन्छामा १०९ लाभग्राहीलाई १२ लाख ५९ हजार भत्ता वितरण गरिएको छ ।

    साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका लाभग्राहीलाई भने दुई स्थानमा शिबिर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडा कार्यालय बाँझेच्यानडाँडाबाट ७७ लाभग्राहीलाई आठ लाख ७१ हजार र चण्डेश्वरी आधारभूत विद्यालयबाट ७१ लाभग्राहीलाई सात लाख ५१ हजार वितरण गरिएको नेपाल एसबिआई बैंक साकेला शाखाका प्रबन्धक असिम इङ्नाम लिम्वुले बताए । चालु आर्थिक वर्ष गाउँपालिकाका कुल एक हजार ३०३ लाभग्राहीका लागि एक करोड ३० लाख २८ हजार ६२६ रुपैयाँ निकासा भएको छ ।

    सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता भएको गुनासो सार्वजनिक भएपछि साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकदेखि नेपाल एसबिआई बैंकको साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दैआएको छ । तर बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राहीलाई वडा–वडामा शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नेगरिएको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताए ।

    sivr1.jpg

    shivir3.jpg

    shivir4.jpg

    shivir2.jpg

    shivir6.jpg

    शारीरिक रुपमा अशक्त लाभग्राहीलाई घुम्ती शिबिरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दै गाउँपालिकाका कर्मचारीहरु । 

    सम्बन्धित समाचार