बुधवार, माघ ११ २०७९
नेपाल वाइड
खोटाङ, ११ माघ । खोटाङमा भएको बस दुर्घटनामा चालक सहित सात घाईते भएका छन् । काँकडभिट्टाबाट दिक्तेल जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५०८ नम्बरको बस बुधबार बिहान मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा सडकछेउमा पल्टिएको हो ।
दुर्घटनामा झापा मेचीनगरपालिका–७ का बस चालक स्ट्रङ राई, मोरङ पथरी नगरपालिका–५ का अमृत पाण्डे, बेलबारी नगरपालिका–१ का किशोर लिम्बू, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका नरबहादुर खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका कुबिर दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका सरोज बिक र हिरानराज खतिवडा घाईते भएको प्रहरीले जनाएको छ ।
टाउको र नाकमा चोट लागेका चालक राईको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । अन्य घाइतेको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरी र स्थानीयको टोलीले घाईतेको उद्धार गरेका थिए । चालक सहित १९ यात्रु सवार बस महुरेगढी प्राविधिक शिक्षालय नजिकै पल्टिएको थियो ।