मंगलवार, माघ १० २०७९
नेपाल वाइड
खोटाङ, १० माघ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको छ । जाडो मौसममा ओढ्नका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ८३ वर्ष नाघेका २० जना ज्येष्ठ नागरिकलाई फाइबरको सिरक प्रदान गरेको हो ।
लक्षित वर्गको कार्यक्रम अन्तरगत ५० बजार बजेटबाट ज्येष्ठ नागरिकलाई फाइबरको सिरक प्रदान गरिएको वडा सचिव प्रकाशचन्द्र राईले बताए । वडा कार्यालय याम्खामा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, याम्खाका वडाध्यक्ष केशवकुमार खत्री लगायतले सिरक वितरण गरेका थिए ।
यसअघि, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका ६७ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ५० जना ज्येष्ठ नागरिकलाई फाइवरको सिरक प्रदान गरिसकेको गाउँपालिकाले जनाएको छ । लक्षितवर्गको वजेटबाट गाउँपालिकाका अन्य वडाका ज्येष्ठ नागरिकलाई पनि सम्मानका कार्यक्रम गर्ने तयारी गरिएको छ ।