बिहिवार, माघ ५ २०७९
नेपाल वाइड
खोटाङ, ५ माघ । जिल्ला समन्वय समिति खोटाङले कवाडी बनेको बुलडोजरको व्यवस्थापनमा चासो देखाएको छ । खोटाङमा सडक विस्तारका लागि २०५५ सालमा खरिद गरिएको डोजरको व्यवस्थापनमा जिल्ला समन्वय समितिले चासो देखाएको हो ।
खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाट (ओखलढुंगातर्फ) स्थित दुधकोसी किनारमा अलपत्र अवस्थामा रहेको डोजरको व्यवस्थापनका सन्दर्भमा बिहिबार जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको सर्वदलीय टोलीले निरिक्षण गरेको छ ।
स्थलगत अध्ययन र अवलोकनका क्रममा थोत्रो भएर बेवारिसे अवस्थामा मिल्किएको डोजर मर्मत गरेर पुःन प्रयोगमा ल्याउन सकिने नदेखिएको टोलीले प्रतिबेदन तयार पारेको छ ।
सर्वदलीय अनुगमन प्रतिबेदनमा डोजरको पाटपुर्जा मक्किएको तथा खिया लागेकाले पुःन प्रयोग गर्न नसकिने प्रकृतिको देखिएको, वर्षा याममा डोजर रहेको ठाउँसम्म नदीको पानी आउने गरेकाले कुनैपनि समयमा डोजरलाई पुर्ने वा बगाउने सम्भावना भएको, डोजरको सिसा तथा प्लाष्टिकजन्य पार्टपुर्जा सबै टुटफुट भइ डोजरको आकृतिमा परिवर्तन भएको लगायतका बुँदा उल्लेख छ ।
कांग्रेसका सुमानबाबु आचार्य, एमालेका कुमार आचार्य, नेकपा माओवादी केन्द्रका दिपक पाण्डे आकाश, जनता समाजवादीका नविन राई, जिल्ला समन्वय समिति सदस्य ज्ञानेन्द्र राई, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री लगायतको टोलीले पाखामा मिल्किएको डोजरको निरिक्षण गरेको हो । २०६२ असार ५ गतेको आगजनीमा डोजरसँग सम्वन्धित कागजात जलेका कारण कानुनीरुपमा लिलाम गर्ने अवस्था छैन ।
जिल्ला समन्वय समितिसँग डोजरलाई कवाडीमा विक्री गर्ने वा संरक्षित वस्तुका रुपमा संरक्षण गर्ने विकल्प छन् । प्रतिबेदनका आधारमा जिल्लाका दल, नागरिक समाज, पत्रकार लगायतको बैठकमार्फत डोजरको व्यवस्थापनका विषयमा सुझाव लिएर निर्णय गरिने जिल्ला समन्वय समिति प्रमुख राईले बताए । कतिपयले अहिले पनि डोजरको विषय उठाएर एकले अर्कालाई बदनाम गर्ने गरेकाले पनि यसको व्यवस्थापनमा चासो दिनु परेको जिसस प्रमुख राईको भनाई छ ।
यसअघि बबी चाम्लिङ नेतृत्वको जिल्ला समन्वय समितिको २०७६ असार ९ गतेको बैठकले डोजरलाई संरक्षण गर्न स्थानीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । इतिहास बोकेको डोजर संरक्षणका लागि माग आएमा हस्तान्तरण गर्ने निर्णय गरेपछि २०७६ असार २६ गते हलेसी तुवाचुङ नगरपालिकाले इतिहास बोकेको डोजर संरक्षण गर्ने भन्दै जिल्ला समन्वय समितिलाई पत्राचार गरेको थियो ।
सोही आधारमा जिल्ला समन्वय समितिले संग्रहालय बनाएर डोजरको संरक्षण गर्नका लागि २०७६ असार २७ गते नगरपालिकालाई डोजर हस्तान्तरण गरेको थियो । यद्यपी, कवाडीकारुपमा थन्किएको डोजरलाई संग्रहालय बनाएर राख्ने योजना अधुरै रहेको थियो ।
उदयपुरको कटारी–घुर्मी–ओखलढुंगा सडक खण्डको हिलेपानीबाट दिक्तेल जोड्ने सडक निर्माणका लागि तत्कालिन ७६ गाबिसको लगानीमा २०५५ सालमा डोजर खरिद गरिएको थियो ।
कटारीबाट ओखलढुंगादेखि सोलुखुम्बु जोड्नेगरी सडक निर्माण सुरु गरिएपछि खोटाङका तत्कालिन सांसद टंक राईले हिलेपानीबाट दिक्तेल जोड्नेगरी हिले–हलेसी सडक निर्माण गर्ने परिकल्पना अघि सारेपछि तत्कालिन जिल्ला विकास समितिमार्फत डोजर खरिद गरिएको थियो ।
तत्कालिन सांसद राईको योजना सफल बनाउनका लागि तत्कालिन जिल्ला विकास समितिका सभापति पर्शुराम कार्की, हरि रोका लगायत लागि परेको तत्कालिन जिबिस सदस्यहरु बताउँछन् । प्रतिगाबिस एक लाखका दरले संकलन गरिएको रकममध्ये ४२ लाखमा डोजर खरिद गरिएको थियो । अन्य रकमबाट एउटा ट्याक्टर खरिद गरिए पनि हाल ट्याक्टरको अत्तोपत्तो छैन ।
खोटाङको साझा सम्पत्तीकारुपमा रहेको डोजर प्रयोग गरेर ओखलढुंगाको हिलेपानीबाट जयरामसम्म करिब ९ किलोमिटर सडक खनिएको थियो । सडक खन्दै जयराममा दुधकोसी किनारमा आइपुगेको डोजर नदी नतार्दै कवाडीमा परिणत हुन पुगेको हो ।