शनिवार, पौष २३ २०७९
नेपाल वाइड
खोटाङ, २३ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा साप्सु खोलाको पानी गाउँमा निकालेर वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा खानेपानीको सुविधा विस्तारका लागि मेवा दोभान, साप्सु कालिका देबिस्थान लिफ्टिङ खानेपानी योजना शिलान्यास गरिएको हो । शनिबार लफ्याङमा साप्सु खोला किनारमा संविधानसभा सदस्य अर्जुन राईले विधिवत लिफ्टिङ खानेपानी योजना शिलान्यास गरेका हुन् ।
साप्सु खोलाको पानी पाँच हजार एक सय मिटरमाथि रहेको मझुवागढी देविस्थानमा निकालेर दुई हजार ३८२ घरधुरीलाई वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजना सुरु गरिएको हो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङमार्फत ५४ करोड ६७ लाख ९० हजार ७१६ (भ्याट तथा पिएस सहित) रुपैयाँमा मृत सञ्जिवनी–सगरमाथा जेभी, काठमाडौंले लिफ्टिङ खानेपानी योजनाको ठेक्का लिएको छ ।
निर्माण कम्पनीले आगामी २०८२ भदौ ४ गतेसम्मा सम्पन्न गर्नेगरी २०७९ साउन २२ गते लिफ्टिङ खानेपानी योजनाको सम्झौता गरेको हो । मृत सञ्जिवनी–सगरमाथा जेभीले २०७९ भदौ ५ गतेदेखि काम सुरु गरेको जनाएको छ ।

खानेपानीको बढ्दो समस्या समाधानका लागि खोलाको पानी निकाल्ने योजना सुरु गरिएको मेवा दोभान, साप्सु कालिका देबिस्थान लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईले बताए ।
लिफ्टिङ खानेपानी योजना अन्तरगत ६१ वटा आरभिटी ट्यांकी, एक वटा ट्रिटमेन्ट प्लान्ट, एक वटा कार्यालय भवन, एक वटा सम्प वेल, सात वटा गार्ड हाउस लगायतका संरचना बन्ने छ ।
यस्तै, १०३ किलोमिटर वितरण पाईपलाईन र खोलादेखि पाँच हजार एक सय ट्रान्समिसनलाईनको काम हुने मृत सञ्जिवनी–सगरमाथा जेभीका इन्जिनियर हरिदेवकिशोर रजकले बताए ।
छ वटा ट्यांकीमार्फत खोलाको पानी प्रतिसेकेण्ड २५ लिटरका दरले देविस्थानमा निकाल्ने योजना सहित लिफ्टिङको काम अघि बढाइएको हो । एक मेगावाट क्षमताको मेवा खोला हाईड्रोपावर सञ्चालनमा ल्याएका संविधानसभा सदस्य राईकै पहलमा हाईड्रोपावर नजिकैबाट लिफ्टिङ खानेपानी योजना सुरु गरिएको हो ।
लिफ्टिङ खानेपानी योजना शिलान्यास कार्यक्रममा एमाले अध्यक्ष रामप्रसाद दंगाल, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई लगायतको उपस्थिति रहेको थियो ।