शुक्रवार, पौष १५ २०७९
नेपाल वाइड
खोटाङ, १५ पुस । जिल्ला फुटबल संघ खोटाङले बाक्सिला बजारका आगलागी पिडितको सहयोगार्थ राहत रकम संकलन अभियान चलाएको छ । गत पुस ४ गते केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा भएको आगलागीबाट क्षती बेहोरेका अग्नी पिडितको सहयोगार्थ फुटबल संघले सहयोग संकलन अभियान चलाएको हो । विद्युत सर्ट हुँदा सुरु भएको आगोले दिपक गुरुङ, डिल्लीकुमार श्रेष्ठ, शुभराज राई, रमेश परियार र अकबर राईको व्यवसायीक प्रयोजनमा प्रयोग भइरहेको घरहरु नष्ट भएको थियो ।
सो आगलागीमा गाउँपालिका अध्यक्ष एबं जिल्ला फुटबल संघका उपाध्यक्ष समिर राईले एक करोड २५ लाख र बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले २० लाख ४० हजार बराबरको क्षती बेहोरेका छन् । फुटबल संघका उपाध्यक्ष र बाक्सिला फुटबल क्लवका सचिव समेत आगलागीबाट पिडित भएपछि जिल्ला फुटबल संघले राहत संकलन सुरु गरेको हो ।
हालसम्म १४ दाताबाट एक लाख ४२ हजार २०१ रुपैयाँ राहत संकलन भइसकेको जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राईले बताए । आगलागी पिडितका लागि युवा समाजसेवी हटमिलन राईले सबैभन्दा बढी एक लाख एक हजार एक रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
यस्तै, ध्रुवबिक्रम राईले १० हजार एक, सुमन पुमाले पाँच हजार, कमल चाम्लिङले पाँच हजार, काजीमान राईले पाँच हजार, प्रकाश राई (पिके)ले तीन हजार, बिनोद तिरुवाले तीन हजार, हिरन राईले दुई हजार, सनम राई (जोजो)ले दुई हजार, रोशेस श्रेष्ठले दुई हजार, अमर श्रेष्ठले एक हजार एक सय, मनोज थापले एक हजार एक सय, गंगाबहादुर बिश्वकर्माले एक हजार र पर्शुराम बिश्वकर्माले एक हजार सहयोग गरेका छन् । संकलित रकम केही समयपछि अग्नी पिडितलाई हस्तान्तरण गर्ने फुटबल संघका अध्यक्ष राईले बताए । आगलागीमा बाक्सिलामा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षती भएको थियो ।