सोमवार, पौष ११ २०७९
नेपाल वाइड
खोटाङ, ११ पुस । खोटाङको दिक्तेलस्थित रम्बा खोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले नयाँ नेतृत्व पाएको छ । दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजना सञ्चालन गर्ने समितिको नयाँ नेतृत्व निर्वाचनको माध्यमबाट चयन गरिएको हो ।
आइतबार भएको निर्वाचनबाट रम्बा खोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा नवराज जोशी चयन भएका छन् । अध्यक्षका अर्का प्रत्यासी राजेन्द्रकुमार श्रेष्ठ (भाने)भन्दा १७४ बढी मत पाएर जोशी अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा निर्मला आचार्य, सचिवमा उत्सव शैंजू र कोषाध्यक्षमा रत्नबहादुर खत्री चयन भएका छन् । सदस्यमा डम्बरबहादुर खत्री, रोहितकुमार सैंजू, देबी राई, अकेला राई र राम बजगाई निर्वाचित भएका छन् । समितिको दोश्रो वार्षिक साधारणसभा गत मंसिर २६ गते उद्घाटन गरिएको थियो ।
तर गणपुरक संख्या नपुग्दा समितिको बन्दसत्र पुस २ गते सारिएको थियो । पुस २ गते पनि गणपुरक संख्या नपुगेपछि बन्दसत्र तेश्रोपल्ट सरेको थियो ।
तेश्रोपल्टको बन्दसत्रमा पनि सहमती नजुटेपछि मतदानका माध्यमबाट रम्बा खोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्व चयन गरिएको हो । रम्बा खोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ९७७ उपभोक्ता मतदाता छन् ।
