बिहिवार, पौष ७ २०७९
नेपाल वाइड
खोटाङ, ७ पुस । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पिडितलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
गत ५ पुस साँझमा भएको आगलागीबाट घर तथा धन सम्पत्ती गुमाएर विस्थापित बनेका पाँच पिडितलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आर्थिक सहयोग गरेको हो ।
कोषले आगलागी पिडित दिल गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, तारादेबी राई र हस्तकुमारी राईलाई जनही १० हजार रुपैयाँका दरले नगद सहयोग गरेको हो । बिहिबार बिहान गाउँपालिका अध्यक्ष समिर राई र कोषका अध्यक्ष भोगेन एक्लेले सहयोग रकम पिडितलाई हस्तान्तरण गरेका छन् । बाक्सिला बजारमा आगलागी हुँदा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षती भएको छ ।
खोटाङ समाज हङकङले स्थापना गरेको कोषले आगलागीबाट विस्थापित भएका पिडितको सहज जीवनयापनका लागि राहत प्रदान गरेको जनाएको छ । प्राकृतिक विपत्तीमा परेका जिल्लाबासीको सहयोगार्थ हङकङमा बसिरहेका खोटाङ्गेको अगुवाईमा २०७२ सालमा कोष स्थापना गरिएको हो ।
२० लाखबाट सुरु गरिएको कोषको मुल धन यस वर्षदेखि २८ लाख नाघेको छ । कोषको वार्षिक रुपमा आउने व्याजबाट जिल्लाका विपत्तीमा परेका नागरिकलाई राहत प्रदान गर्ने गरिएको कोषाध्यक्ष युगसन किरातले बताए ।