मंगलवार, पौष ५ २०७९
नेपाल वाइड
खोटाङ, ५ पुस । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारमा भएको आगलागीमा पाँच करोडको हाराहारीमा क्षती भएको छ । सोमबार साँझ लागेको आगोले व्यापार व्यवसाय सञ्चालन हुँदैआएको पाँच घर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षती भएको हो ।
आगलागीमा डिल्लीकुमार श्रेष्ठको ढुंगा माटोको गारो र टिनको छाना भएको तीन तले घर, भाँडा पसल, कपडा पसल र नगद ५० हजार जल्दा एक करोड ४१ लाख ७७ हजार बराबरको क्षती भएको छ । सोही घरमा रहेको उनकै छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजार जल्दा २० लाख ४० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।
यस्तै, स्थानीय शुभराज राईको ढुंगा माटोको गारो र टिनको छानो भएको तीन तले घर, सोही घरमा भाडामा बसिरहेका समिर राई (गाउँपालिका अध्यक्ष)को कपडा पसल, पुस्तक पसल, किराना पसल र नगद दुई लाख जल्दा एक करोड २५ लाख, सोही घरमा भाडामा पसल गरिरहेका ईद्रा राईको होटल र पसल जल्दा सात लाख ५० हजार बराबरको क्षती भएको छ ।
अर्का व्यवसायी दिपक गुरुङको टिनको छानो भएको तीन तले घर, नगद एक लाख र किराना सामानको गोदाम नष्ट हुँदा ५४ लाख ८५ हजार, गुरुङकै घर भाडामा लिएर कपडा व्यवसाय गरिरहेका रत्ना गुरुङको नगद ७५ हजार र सामान जल्दा १३ लाख ७२ हजारको क्षती भएको प्रहरीले जनाएको छ ।
यस्तै, रमेश परियारको ढुङ्गा माटोले बनेको टिनको छानो भएको तीन तले घर, नगद एक लाख, टेलर पसल समेत जल्दा ७१ लाख नौ हजार क्षती भएको छ । अकबर राईको घर, टिभी, फर्निचरका सामान जल्दा ६३ लाख र उनकै घरमा रहेको कांग्रेसको समन्वय कार्यालयको कुर्सी, दराज लगायतका समान जल्दा दुई लाख बराबरको क्षती भएको डिएसपी मुकारुङले जानकारी दिए । बाक्सिला बजारमा गुरुङको घरबाट सुरु भएको आगोले अन्य घर पनि जलाएको हो । बजारका अन्य घरमा आगो फैलिन नदिन अकबरको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको थियो ।