मंगलवार, पौष ५ २०७९
नेपाल वाइड
खोटाङ, ५ पुस । खोटाङको दिक्तेलस्थित रम्बा खोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभाको बन्दसत्र दोश्रोपल्ट सरेको छ ।
गत २६ मंसिरमा उद्घाटन गरिएको दोश्रो वार्षिक साधारणसभाको बन्दसत्र गणपुरक संख्या नपुग्दा २ पुसका लागि सारिएको थियो । दोश्रोपल्ट बोलाइएको भेला समेत गणपुरक संख्या नपुगेपछि अर्कोपल्टका लागि सारिएको रम्बा खोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताए ।
कतिपयले भने गणपुरक संख्या पुग्ने अवस्थामा पनि जानाजान दोश्रोपल्टको बन्दसत्र सारेको आरोप लगाइरहेका छन् । अध्यक्ष जोशीले भने बन्दसत्रमा मताधिकार नभएका उपभोक्ता प्रवेश गरेर हो–होल्ला गरेकाले आगामी ६ पुसका लागि बन्दसत्र सारिएको जानकारी दिए ।
साधारणसभामा रम्बा खोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ९७७ उपभोक्ता मतदाता छन् । तर अधिकांश घर धनी (उपभोक्ता) जिल्ला बाहिर भएका कारण गणपुरक संख्या नपुगेको अध्यक्ष जोशीले बताए ।
साधारणसभामा उपस्थित भएर मतदान गर्न पाउने कुल संख्याको ५१ प्रतिशत सदस्यको उपस्थितिलाई साधारणसभाको गणपुरक संख्या पुगेको मानिन्छ तर पहिलो पटक गणपुरक संख्या नपुगेमा दोश्रो पटक एक तिहाई र तेश्रो पटक उपस्थित संख्यालाई नै गणपुरक मानिने समितिको व्यवस्था छ ।
आफु अनुकुलको मतदातालाई अधिक उपस्थित गराउने र अनुकुलको उपभोक्ता समिति बनाउने खेलका कारण पनि बन्दसत्र पटक–पटक सारिएको कतिपयको बुझाई छ । उसो त रम्बा खोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको यस अघिका साधारणसभामा पनि ५१ प्रतिशत उपस्थिति नहुँदा एक तिहाईको उपस्थितिमा बन्दसत्र टुंग्याइएको उदाहरण छन् ।
रम्बा खोला–माझ खोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा छन् । दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजना २०७८ चैतदेखि सञ्चालनमा ल्याइएको हो ।
रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनालाई मिलाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १ हजार ४९ घर उपभोक्तालाई प्रशोधन गरिएको स्वच्छ र गुणस्तरिय पानी वितरण गरिएको छ ।
उपभोक्ता समितिको अध्यक्षका लागि राजेन्द्रकुमार श्रेष्ठ र नवराज जोशी आकांक्षी देखिएका छन् । खानेपानी आयोजनाका लागि समय दिनसक्ने फुर्सदिलो र मुहानका स्थानीयसँग समन्वय गर्न सक्ने व्यक्तीलाई अध्यक्षका रुपमा चयन गर्नुपर्ने उपभोक्ताको धारणा छ ।