शुक्रवार, पौष १ २०७९
नेपाल वाइड
काठ्माडौं, १ पुस । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) समक्ष खोटाङको महुरेगढी प्राविधिक शिक्षालयको भौतिक तथा शैक्षिक गुणस्तर विकासका लागि ध्यानाकर्षण गराएका छन् ।
गत सोमबार खोटाङका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईलाई ज्ञापन–पत्र बुझाउँदै महुरेगढी प्राविधिक शिक्षालयलाई प्रदेशकै प्राविधिक शिक्षाको केन्द्र निर्माण गर्नेगरी आवश्यक पहल र अगुवाई गर्न ध्यानाकर्षण गराएका पौडेलले शुक्रबार सीटीभीटी पुगेर सोही विषय उठाएका हुन् ।
केन्द्रीय सदस्य पौडेलले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, पोलिटेक्निक निर्देशक देवेशचन्द्र देवकोटा, योजना आयोगका सदस्य डा उषा झा मौर्य शिक्षालयका प्रमुख पुष्प प्याकुरेल, पाठ्यक्रम अधिकृत डाकुरनाथ पराजुली, सीप परियोजना प्रमुख दामोदर देवकोटा, स्तरन निर्धारण महाशाखा प्रमुख मीनराज अधिकारीलाई भेटेर दक्ष जनशक्ती र आवश्यक भौतिक संरचनाहरु निर्माण गरी महुरेगढी प्राविधिक शिक्षालयको थप स्तरोन्नती विषयलाई महत्वका साथ उठाएका छन् ।
सीटीइभीटीका जिम्मेवार अधिकारी प्राविधिक शिक्षालयको भवन निर्माणदेखि शैक्षिक गुणस्तर कायम गर्ने र क्षेत्र विस्तार गर्ने विषयमा तत्कालै काम अघि बढाउन तयार भएको केन्द्रीय सदस्य पौडेलले बताए ।
दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजना, हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजना, सुनकोसी नदीको धाप्लाङघाटमा निर्माणाधिन पुल, महुरे–फोक्सिङटार सडक कालोपत्रे, मध्यपहाडी अन्तरगत जयरामघाट–हलेसी सडक, सेखुवादेखि चखेवासम्मको सडक कालोपत्रे लगायतका काममा भइरहेको ढिलासुस्ती अन्त्याका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएपछि पौडेल काठ्माडौं पुगेका हुन् ।