Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ‘तर हिंसाका घटना बढेको बढ्यै’

    ‘तर हिंसाका घटना बढेको बढ्यै’


    • शनिवार, मंसिर २४ २०७९

    • नेपाल वाइड


    ‘तर हिंसाका घटना बढेको बढ्यै’
    अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान समापन कार्यक्रमका अतिथि लगायत । तस्बीरः नेपालवाईड डटकम

    खोटाङ, २४ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा हिंसाका घटना बढिरहेको तथ्यंक सार्वजनिक गरेको छ ।

    ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा ३१ औं लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा आयोगको प्रदेश १ शाखा कार्यालय दिक्तेलले तीन जिल्लामा सम्बन्ध बिच्छेद, महिला हिंसा, घरेलु हिंसा, वाल हिंसाका घटनाहरु बढिरहेको जानकारी दिएको छ ।

    जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित कार्यक्रममा मानव अधिकार अधिकृत नेत्र गौतमले हत्याका घटनाहरु बढिरहेको, समयमै दोषी पत्ता लगाउन नसक्दा न्यायिक अधिकारबाट बञ्चित हुनु परेको देखिएको औंल्याएका छन् । आयोगले प्रस्तुत गरेको मानव अधिकार अवस्थाको संक्षिप्त झलकमा तीन जिल्लामा आत्महत्या दर पनि बढ्दोक्रममा रहेको उल्लेख छ ।

    यस्तै, अदालतको फैसला हुँदा समेत नागरिकता प्राप्तिको अधिकारबाट बञ्चित भएको, जन्मदर्ताको अधिकारबाट बञ्चित भएको, कारागारको भौतिक संरचना व्यवस्थित हुन नसकेको पाइएको आयोगले जनाएको छ ।

    नेपाल सरकारको मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना र दिगो बिकासको लक्ष्य प्राप्ति गर्ने सम्बन्धी कृयाकलापहरु कार्यान्वयन हुन नसकेको, चार स्थानीय तह बाहेक अन्यले महिला सम्बन्धी नीति, कानून तर्जुमा गर्न नसकेको मानव अधिकार अधिकृत गौतमले बताए ।

    आयोगले दर्ता भएका ५५ उजुरीमध्ये ४६ वटा उजुरीउपर अनुसन्धान सम्पन्न गरी निर्णयार्थ पेश गरेको, मानव अधिकार उल्लंघनका घटनामा आरोपित बहालवाला प्रदेश सांसद, पूर्व प्रजिअ लगायतका कर्मचारी गरी ४२ जनालाई प्रमाण पेश गर्न र सफाया पेश गर्ने मौका दिइएको जानकारी दिएको छ ।

    day of against violance 16 days_khotang (2).jpg
    अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान समापन अघि दिक्तेलमा निकालिएको प्रभातफेरी ।

    यस्तै, मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको लागि तीनै जिल्लाका समन्वय समिति र पालिकामा पत्राचार र ७ पालिकामा अन्तरक्रिया गरेको, महिला र बालबालिका, ज्येष्ठ नागरिक, अल्पसंख्यक, वातावरण र विकास, शिक्षा स्वास्थ्य लगायतका बिषयगत अनुगमन र अन्तरक्रिया गरिएको जानकारी दिएको छ ।

    अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान समापन अघि दिक्तेलबजारमा प्रभातफेरी निकालिएको थियो ।

    जिल्लामा मानव अधिकार आयोग, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, महिला एकता अध्ययन केन्द्र, अपांग सेवा संघ, मानव अधिकारको लागि महिला एकल महिला, नेपाल पत्रकार महासंघ, गैर–सरकारी संस्था महासंघ लगायत २७ संघसंस्थाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा प्रहरीका बरिष्ठ हवल्दार मिरा ओलीलाई सम्मान गरिएको छ । महिलाको अधिकारको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै बरिष्ठ हवल्दार ओलीलाई दोसल्ला ओढाएर प्रशंसा–पत्र सहित सम्मान गरिएको हो ।

    जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको अध्यक्षता एबं प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधासभा सदस्य पाँचकर्ण राई, दुर्गाजयन्ती राई, पुर्वसांसद कुलप्रसाद फुयाँल, दलका नेता लगायतको उपस्थिति रहेको थियो । कतिपयले सदरमुकाममा र्‍याली निकाल्दैमा हिंसाका घट्नामा कमी नआउने प्रतिक्रिया दिएका छन् ।

    सम्बन्धित समाचार