Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पानीबिनाको आँखा पोखरी

    पानीबिनाको आँखा पोखरी


    • सोमवार, मंसिर १९ २०७९

    • नेपाल वाइड


    पानीबिनाको आँखा पोखरी
    पानी नहुँदा सुकेको आँखा आकारको पोखरी । तस्बिरः नेपालवाईड डटकम

    खोटाङ, २५ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा निर्माण गरिएको आँखा पोखरी सुकेको छ । २०७५ साउन २६ गते उद्घाटन गरिएको आँखा पोखरी पानी व्यवस्थापन नहुँदा सुकेको हो ।

    ऐतिहासिक महुरेगढी नजिक किराती राजा भ्रमराजले बिक्रम संबत १८३० मा निर्माण गरेको पोखरीलाई कंक्रिट गरेर आँखा आकारको पोखरीको रुप दिइएको थियो ।

    मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थलकारुपमा रहेको महुरेमा ५१ लाखको लागतमा निर्माण गरिएको ३२ मिटर लम्बाई भएको आँखा पोखरी अहिले सुक्खा पोखरीमा परिणत भएको छ ।

    नगरपालिकाको ४३ लाख र स्थानीयवासीको आठ लाख बराबरको जनश्रमदानमा बनाइएको पोखरीकोबीच भागमा ब्रिज डाईनिङ र आसपासमा रेलिङ बार राखिएको छ । पोखरी निर्माणमा पर्यटन मन्त्रालयको बजेट समेत खर्च भएको छ ।

    तर मुहान व्यवस्थापन नहुँदा पोखरीमा पानी भर्न समस्या भएको छ । समुन्द्री सहतदेखि करिब दुई हजार दुई सय मिटरको उचाईमा रहेको महुरेगढीको पर्यटन प्रवर्द्धनका लागि भन्दै बनाइएको पोखरीमा नियमित पानी व्यवस्थापन नहुँदा बजेट खर्च मात्र गर्ने प्रवृत्ति झल्किएको स्थानीय बताउँछन् ।

    आँखा पोखरीका लागि पानीको छुट्टै श्रोत व्यवस्थापन गरिएको छैन । खानेपानीको पाईप चुँडाएर पोखरीमा पानी हाल्ने गरिएको थियो । तर पिउने पानीकै अभाव हुन थालेपछि पोखरीमा पानीको अभाव भएको नुनथलाका पुर्ववडाध्यक्ष भीम राई बताउँछन् ।

    “पोखरीका लागि मुहानको व्यवस्था छैन । हलेसीतिर लगेको खानेपानीको पानी निकालेर हाल्ने गरिएको थियो,” राईले भने, “अहिले खानेपानी छैन । कहाँबाट पोखरीमा पानी हाल्नु ! सुक्खा पोखरी भइसक्यो ।”

    पुष्पलाल मध्यपहाडी लोकमार्गको क्षेत्र सेन्टरबाट दायाँ–बायाँ ६२ मिटर कायम गरिएको छ । त्यो बेला मापदण्ड मिचेर मध्यपहाडी लोकमार्ग क्षेत्रभित्र पोखरी निर्माण गरिएको भन्दै बिरोध भएको थियो ।

    पोखरी निर्माणकाक्रममा नगरपालिकाले वडा कार्यालय नुनथलासँग समन्वय पनि गरेको थिएन । अहिले सगरमाथा राजमार्ग कालोपत्रे गर्नेक्रममा सडक फराकिलो बनाउँदा पोखरीको बारलाई मिचेर माटो थुपारिएको छ । मध्यपहाडी र सगरमाथा राजमार्ग थप फराकिलो बनाउनेक्रममा भविष्यमा पोखरीलाई थप क्षती पुग्ने देखिएको छ ।

    सम्बन्धित समाचार