Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानः जालपाका हिंसा पिडित महिलालाई नगरको आर्थिक सहयोग

    लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानः जालपाका हिंसा पिडित महिलालाई नगरको आर्थिक सहयोग


    • शनिवार, मंसिर १७ २०७९

    • नेपाल वाइड


    लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानः जालपाका हिंसा पिडित महिलालाई नगरको आर्थिक सहयोग
    घरेलु हिंसा पिडित महिलालाई आर्थिक सहयोग स्वरुप रकम हस्तान्तरण गर्नुहुदै मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईलगायत ।

    खोटाङ, १७ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले घरेलु हिंसा पिडित महिलालाई आर्थिक सहयोग प्रदान गरेको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाकी लक्ष्मी राईलाई नगद ५० हजार सहयोग गरिएको हो ।

    महिला, वालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा शनिबार जालपामा भएको कार्यक्रममा मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईले लक्ष्मीलाई उपप्रमुखसँग महिला कार्यक्रम अन्तरगत नगद रकम हस्तान्तरण गरेका छन् ।

    लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा विगतमा दिक्तेलबजारमा र्‍याली निकालेर कार्यक्रम गर्ने गरिएकामा यसपल्ट सो र्‍याली निकाल्ने रकम हिंसा पिडित महिलालाई छानेर प्रदान गरिएको हो ।

    लैंगिक हिंसा विरुद्धको अभियानलाई ‘बजारमुखी होईन गाउँमुखी’ बनाउने लक्ष्यका साथ र्‍याली गर्ने खर्चलाई हिंसा पिडित महिलाको सहयोगार्थ उपयोग गरिएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिका मातहतको लैंगिक हिंसा निवारण कोष सञ्चालन समितिले गरेको निर्णय अनुसार हिंसा पिडित महिलालाई नगद सहयोग गरिएको महिला बालबालिका शाखा प्रमुख इरन राईले बताईन् ।

    श्रीमानले छाडेपछि लक्ष्मी एक छोरी र छोरा सहित अर्काको घरमा भाडामा बसेर चिया पसल गर्दै जीवन निर्वाह गरिरहेकी छन् । ‘अहिले बजार केन्द्रित कार्यक्रम गर्ने प्रचलन छ ।

    हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम बजारमा भन्दा गाउँमा आवश्यक छ,’ महिला बालबालिका शाखा प्रमुख राईले भनिन्, ‘त्यही भएर बजारमा र्‍याली गर्ने पैसालाई पिडितको सहयोगमा खर्च गरिएको हो ।’

    लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकै सन्दर्भमा परिचयपत्र वितरण घुम्ती शिबिरमार्फत जालपाका १७३ वृद्धवृद्धालाई ज्येष्ठ नागरिक परिचयपत्र प्रदान गरिएको छ ।

    यस्तै, सात जनालाई अपांगताको परिचयपत्र वितरण गरिएको छ । विश्व अपांग दिवसको अवसर पारेर (क) वर्गको दुई जना, (ख) वर्गको दुई जना र (घ) वर्गको तीन जनालाई अपांगताको परिचयपत्र वितरण गरिएको हो । अपांगताको परिचयपत्र वितरणका लागि परिचयपत्र वितरण घुम्ती शिबिरमा डाक्टर सहितको टोली जालपा लगिएको वडाध्यक्ष दानबहादुर राईले बताए ।

    कार्यक्रममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको विषयमा जानकारी दिँदै महिला हिंसा विरुद्धको प्रतिवद्धताको प्रतिकका रुपमा सेतो रिबन बाँडिएको थियो । मुलुकभर ९ मंसिरदेखि २४ मंसिरसम्म विभिन्न कार्यक्रम गर्दै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइदैछ ।

    2.jpg

    45.jpg

    महिला, वालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा शनिबार जालपामा आयोजित कार्यक्रम ।

    सम्बन्धित समाचार