बुधवार, मंसिर ७ २०७९
नेपाल वाइड
खोटाङ, ७ मंसिर । खोटाङमा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धन (नेकपा माओवादी केन्द्र)का उम्मेदवार रामकुमार राई (पासाङ)ले चुनावी परिणाममा आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार राई एमालेका बिशाल भट्टराईभन्दा ८२४ मतले अघि छन् । राईले १२ हजार १२५ मत पाउँदा भट्टराईले ११ हजार ३०१ मत पाएका छन् ।
प्रतिनिधिसभातर्फ हालसम्म हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको २५ हजार ९१० मत गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अहिले खोटेहाङ गाउँपालिकाको मत गणना भइरहेको छ । प्रतिनिधिसभातर्फ ६७ हजार ३७३ मत खसेको थियो । निर्वाचन परिणाम अनुसार जसपाका कृष्णकुमार राईले ६९९ मत, राप्रपाका सर्जु श्रेष्ठले २८२ मत, स्वतन्त्रका जयन्द्रकुमार राईले १३५ मत, मंगोल नेशनल अर्गनाइजेसनका दिपक मगरले ८९ मत, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले ४५ मत र नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले ४८ मत पाएका छन् ।