शनिवार, मंसिर ३ २०७९
नेपाल वाइड
खोटाङ, ३ मंसिर । सोलुखुम्बुमा मतदान गराउन खटिएका मतदान अधिकृत मृत भेटिएका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेचासल्यान गाउँपालिका–४ नेचाबेतघारीस्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।
अन्य कर्मचारीले उठाउन जाँदा राय शनिबार बिहान मृत फेला परेका हुन् । घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । राय निर्वाचन सामग्री र अन्य कर्मचारी सहित १ मंसिरमा मतदान केन्द्र पुगेका थिए ।
आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत रायको मृत्यु भएपछि सो मतदान केन्द्रमा सहायक मतदान अधिकृतमार्फत वा अर्को मतदान अधिकृतको व्यवस्था गर्ने विषयमा छलफल भइरहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका जिल्ला निर्वाचन अधिकारी रामनारायण शाहले बताए ।
“सहायक मतदान अधिकृतलाई नै मतदान अधिकृतको काम गर्न भनेका छौँ । तर सक्दिन भनिरहनु भएको छ,” शाहले भने, “सके उहाँले नै मतदान अधिकृतको काम गर्नुहुन्छ, नसक्ने अवस्थामा अर्को मतदान अधिकृतको व्यवस्था गर्ने छौँ ।” राय सर्लाही हरिपुर्वा नगरपालिका– ५ निवासी हुन् ।