बिहिवार, मंसिर १ २०७९
नेपाल वाइड
खोटाङ, १ मंसिर । खोटाङका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सर्जु श्रेष्ठले उम्मेदवारका रुपमा उभिनु नै आफ्नो जित भएको बताएका छन् । राप्रपाले बिहिबार दिक्तेलको हेलीप्याडमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रेष्ठले बुढापाका उम्मेदवारकोबीचमा आफु उभिनु नै जित भएको बताएका हुन् ।
‘हामीलाई तँ युवा होस्, जित्दैनस् । तँ हार्छस् भनेर धेरै ठाउँ भन्नुहुन्छ,’ ३३ वर्षीय श्रेष्ठले भने, ‘हामी युवा उभिनु नै हाम्रो जित हो । हामीले उम्मेदवारी दिनु नै हाम्रो जित हो ।’ पेशाले ईन्जिनियर सर्जु जिल्लामा ‘हक्की र निडर स्वभाव भएको र भ्रष्टाचार विरोधी’ छवि बनाएका जीवन श्रेष्ठका छोरा हुन् भने काठ्माडौंका मेयर बालेन्द्र शाहका सहकर्मी हुन् ।
चुनावीसभामा उम्मेदवार श्रेष्ठले २०६८ साल यता २५ हजारले खोटाङ छाडेको उल्लेख गर्दै पुरानै नेतालाई जिताएर पठाए बसाइ सर्ने दर नरोकिने दावी गरे । ‘२०६८ सालमा दुई लाख पुगेको जनसंख्या अहिले घटेर एक लाख ७५ हजारमा झरेको छ ।
२५ हजार जनसंख्याले सँधैका लागि खोटाङ छोडेर जानु भएको छ । तर अझै पनि खोटाङका नेताहरु फेरी पनि मलाई जिताउनुस्, जिताउनुभयो भने मन्त्री बन्छु भन्दै हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘म प्रश्न गर्न चाहन्छु, २५ हजारले त सँधैका लागि खोटाङ छाडेर गइसके । फेरी जितेर मन्त्री बनेर के खोटाङ रित्याउने तपाईहरुको सपना हो ?’
चुनावीसभालाई सम्बोधनका क्रममा श्रेष्ठले देश परिवर्तन गर्ने सपनामा ज्यान अर्पण गरेका शहीदको सपना कसैले पुरा गर्न नसकेको चर्चा गरे । श्रेष्ठले शसस्त्र द्धन्द्ध कालमा ज्यान गुमाएका खोटाङकै शहीद ठुलकुमार श्रेष्ठको सम्झना गर्दै उनको सपना पनि साकार नभएको बताए ।
‘चुनावी अभियानमा ठुलकुमार श्रेष्ठको घरमा पुगेँ । उहाँले सहादत प्राप्ती गर्दैगर्दा उहाँको घरमा तीन जना लालावाला बच्चाहरु थिएछन् । ठुलकुमारलाई आफ्नो जीन्दगी, परिवारको जिन्दगीभन्दा पनि खोटाङको अवस्थाको बेसी चिन्ता थियो ।
त्यही भएर उहाँले आफ्नो ज्यानको आहुती दिनुभयो,’ श्रेष्ठले भने, ‘म कांग्रेस र माओवादी पार्टी कार्यालयको बीचमा उभिएर सिंगो पार्टीका नेताहरुलाई प्रश्न गर्न चाहन्छु, के ठुलकुमारको सपना साकार भए ? प्रचण्डलाई यही ठाउँबाट भन्न चाहन्छु, के शहीदको सपनाहरु साकार पार्नुभयो ?’
श्रेष्ठले राजनैतिक नेतृत्वमा अग्रसर हुने युवालाई ‘उमेर पुगेको छैन’ भन्दै हतोत्साहित गर्ने प्रवृत्तिको विरोध गरे । ‘मलाई धेरै ठाउँमा प्रश्न गर्नुहुन्छ, तिम्रो राजनीति गर्ने उमेर भयो ?,’ उनले भने, ‘आज ६५ लाख युवाले विदेशमा श्रम र उमेर बेचेर पठाएको पैसाले देश चलाउन मिल्छ । त्यही युवा राजनीतिमा आउन किन नहुने ?’
सभालाई संविधानसभा सदस्य एबं राप्रपाका केन्द्रीय सम्पादन समितिका सदस्य अर्जुन राई, प्रदेशसभाका समानुपातिक उम्मेदवार बिजयकला राई, केन्द्रीय आइटी प्रमुख रबिन चाम्लिङ, जिल्ला अध्यक्ष ललितकुमार राई, प्रदेश कमिटि सदस्य पेशल बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि अध्यक्ष चन्द्रकुमारी राई तारा लगायतले सम्बोधन गरेका थिए ।