बिहिवार, मंसिर १ २०७९
नेपाल वाइड
खोटाङ, १ मंसिर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका मतदान स्थलमा निर्वाचन सामग्री पुगेको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत सबै मतदान स्थलमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री सहितका कर्मचारी र सुरक्षाकर्मीको टोली पुगेका हुन् ।
सदरमुकाम दिक्तेल नजिकका केही मतदान केन्द्रमा मात्र निर्वाचन सामग्री पठाउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए ।
मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप लगायतका ६२ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी बस रिजर्भ गरेर मतदान स्थलतर्फ गएका छन् ।
निर्वाचनका लागि आवश्यक सामग्री सहित एक हजार ५५८ जन कर्मचारी परिचालन भएका छन् । मतदानस्थलको सुरक्षाका लागि करिब एक हजार आठ सय सुरक्षाकर्मी खटिएका छन् ।
निर्वाचन सामग्रीसहितका कर्मचारीको टोलीले बिहिबार आठ वटा बस रिजर्भ गरेकाछन् । बुधबार दुई वटा र मंगलबार पाँच वटा बस रिजर्भ गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका लागि ३८ वटा जीप रिजर्भ भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्रमा चार वटाका दरले मत पेटिका पठाइएको छ ।
मतदान स्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भंग गर्न निषेध सम्वन्धी सूचना टाँस गरेर मतदान केन्द्र निर्माणको थालनी गर्ने सहायक निर्वाचन अधिकृत यादवले बताए ।
यस्तै, शुक्रबारबाट मत गणनास्थल तयारीको काम सुरु गरिने छ । यस निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।