मंगलवार, कार्तिक २२ २०७९
नेपाल वाइड
खोटाङ, २२ कात्तिक । नेपाली कांग्रेसले खोटाङ प्रदेशसभा (क)मा स्वतन्त्र उम्मेदवारी दिएका महाधिबेसन प्रतिनिधि धर्मराज पोखरेललाई निश्कासन गरेको छ ।
आसन्न मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पोखरेललाई मंगलबार केन्द्रीय अनुशासन समितिले पाँच वर्षका लागि साधारण सदस्य समेत नरहनेगरी निश्काशन गरेको हो ।
पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिने, त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक बसेका ७४ जनामाथि कारबाहीमा पर्दा पोखरेल पनि निश्कासनमा परेका हुन् ।
गठबन्धनको सिट बाँडफाँड र टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका कांग्रेसका पुर्व राज्यमन्त्री सर्वधन राई र प्रदेशसभा (क)मा उम्मेदवारी दर्ता गरेका कांग्रेस खोटाङका पुर्वसभापति सुवासकुमार पोखरेलले उम्मेदवारी फिर्ता लिए पनि पोखरेलले उम्मेदवारीलाई निरन्तरता दिएका थिए ।
प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ) र प्रदेशसभा ‘क’मा नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई उम्मेदवार छन् ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जिल्लामा प्रतिनिधिसभा वा दुई प्रदेशसभामध्ये एक पाउनुपर्ने माग सुनुवाई नभएको भन्दै कांग्रेस नेता पोखरेलले प्रदेशसभा ‘क’मा स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।
गठबन्धनले चुनावी कार्यक्रम गरिरहँदा स्वतन्त्र उम्मेदवार पोखरेल पनि धारा चुनाव चिन्ह लिएर घरदैलोमा व्यस्त छन् । राप्रपा पृष्ठभूमीका पोखरेल कांग्रेसका पुर्व जिल्ला उपसभापति पनि हुन् । सुरुमा स्वतन्त्र उम्मेदवारी दिनका लागि पोखरेललाई उक्साउने अधिकांश कांग्रेस नेता भने गठबन्धनको चुनावीसभामा हिँड्न थालिसकेका छन् ।