Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा आइपुग्यो प्रत्यक्षतर्फको ३२० प्याकेट मतपत्र

    खोटाङमा आइपुग्यो प्रत्यक्षतर्फको ३२० प्याकेट मतपत्र


    • सोमवार, कार्तिक २१ २०७९

    • नेपाल वाइड


    खोटाङमा आइपुग्यो प्रत्यक्षतर्फको ३२० प्याकेट मतपत्र
    जिल्ला निर्वाचन कार्यालय खोटाङ अगाडि राखिएका निर्वाचन सामग्री । तस्बीरः दमन राई

    खोटाङ, २१ कात्तिक । आसन्न निर्वाचनका लागि खोटाङमा प्रत्यक्षतर्फको मतपत्र आइपुगेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले पठाएको प्रत्यक्षतर्फको मतपत्र आइतबार साँझ नेपाली सेनाको ट्रकमार्फत आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए ।

    निर्वाचनका लागि ३२० प्याकेट मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको हो । त्यसमध्ये चार प्याकेट भने कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कैंदीका लागि समानुपातिकतर्फको मतपत्र छन् । एक प्याकेटमा सरदर एक हजार मतपत्र समावेश गरिएका हुन्छन् । समानुपातिकतर्फका मतपत्र भने यसअघि नै आइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    निर्वाचनका लागि गत स्थानीय तहको निर्वाचनमा प्रयोग भएका र नयाँ गरी ७९२ थान मत पेटिका तयारी अवस्थामा राखिएको छ । जिल्लाको १३६ मतदान स्थलको १९४ मतदान केन्द्रमा पाँच वटाका दरले र दुई वटा अस्थायी मतदान केन्द्रमा एक/एक वटाका दरले मत पेटिका प्रयोग हुने जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए ।

    आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७५२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ । कर्मचारी र सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति र कैंदीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र खडा गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार